काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रकी उपनिर्देशक शुभलक्ष्मी श्रेष्ठले नेपालमा सौर्य ऊर्जाको प्रयोग धेरै भए पनि विद्युतीय सवारी (ईभी) चार्जिङका लागि भने हालसम्म त्यसको खासै उपयोग नभएको बताएकी छन्।
उनले ईभी चार्जिङका लागि भविष्यमा सौर्य ऊर्जाको सम्भावना रहे पनि अहिले बिजुली नै सबैभन्दा उत्तम विकल्प रहेको धारणा व्यक्त गरिन्।
‘केन्द्रबिन्दु ईभी बज-पोलिसी डिस्कोर्स २०८२’अन्तर्गत “ईभी एडप्टेसन इन नेपाल –अपर्चुनिटी एन्ड च्यालेन्ज” शीर्षकमा भएकाे प्यानल डिस्कसनमा उनले यस्ताे बताएकी हुन् ।
श्रेष्ठका अनुसार, नेपालमा सोलार रुफटप जस्ता सौर्य ऊर्जाका परियोजनाहरू धेरै स्थापना भएका छन् र ग्रिडमा जोडिने सौर्य ऊर्जाको हिस्सा ९९ प्रतिशतसम्म पुगेको छ। यद्यपि, ईभी चार्जिङका लागि भने छुट्टै सौर्य ऊर्जा प्रणालीको प्रयोग भएको छैन। “रातिको समयमा चार्जिङ गर्नुपर्ने र यसका लागि आवश्यक ठाउँ (स्पेस) को कमीका कारण सोलारको प्रयोगमा समस्या छ,” उनले भनिन्।
उनले पाँच वर्षअघि सौर्य ऊर्जाको लागत प्रति वाट १२० रुपैयाँ रहेकोमा अहिले ४० रुपैयाँमा झरेको र भविष्यमा यसको सम्भावना बढ्ने संकेत गरिन्।
उपनिर्देशक श्रेष्ठले ईभीप्रति बढ्दो आकर्षणलाई केन्द्रले सकारात्मक रूपमा लिएको बताइन्। “गत वर्ष मात्रै काठमाडौं उपत्यकामा ईभी भित्रिँदा दिगो विकास लक्ष्य र नेट जिरोको मान्यतालाई कसरी पूरा गर्ने भन्ने विषयमा हामीले अध्ययन गर्यौं,” उनले भनिन्। उनका अनुसार, ईभीको सञ्चालन खर्च र मर्मतसम्भार (अपरेसन र मेन्टिनेन्स) इन्टरनल कम्बस्चन इन्जिन (आईसीई) गाडीको तुलनामा १० गुणा कम छ।
जर्मन विकास सहयोग (जीआईजेड) को सहयोगमा देशभर १२४ वटा चार्जिङ स्टेशन निर्माण भएको र तीमध्ये ५४ वटा अनलाइन रहेको पनि उनले जानकारी दिइन्। यसले ईभी प्रयोगकर्ताहरूलाई थप सहजता प्रदान गरेको उनको भनाइ छ।





























प्रतिक्रिया