काठमाडौं । नेपाल विद्युत प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले नेपालमा बढ्दो विद्युतीय सवारी (ईभी)को प्रयोगलाई ध्यानमा राख्दै देशभर चार्जिङ स्टेशनको पूर्वाधार विकासका लागि प्राधिकरण पूर्ण रूपमा तयार रहेको बताएका छन्।
उनले हालसम्म बनेको १ लाख किलोमिटर सडक सञ्जालमा ईभी पूर्वाधार पुर्याउन प्राधिकरणले सक्रियता देखाएको जानकारी दिए।
केन्द्रबिन्दु ईभी बज-पोलिसी डिस्कोर्स २०८२’अन्तर्गत “ईभी एडप्टेसन इन नेपाल –अपर्चुनिटी एन्ड च्यालेन्ज” शीर्षकमा भएकाे प्यानल डिस्कसनमा उनले यस्ताे बताएका हुन् ।
श्रेष्ठका अनुसार, प्राधिकरणले ईभी चार्जिङ स्टेशन स्थापना गर्न चाहने व्यवसायीहरूका लागि विनियममा संशोधन गरिसकेको छ। अब, २०० केभीएसम्म विद्युत् खपत गर्ने स्टेशनहरूलाई सहजै अनुमति दिइनेछ। प्राधिकरणले आफ्नै पहलमा देशभर ६० भन्दा बढी स्टेशनहरू स्थापना गरिसकेको छ र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत थप १२४ स्थानमा स्टेशन राख्ने योजना पनि रहेको उनले बताए।
भविष्यमा पूर्व-पश्चिम राजमार्ग, निर्माणाधीन सडकहरू र प्रमुख पर्यटकीय स्थलहरूमा चार्जिङ स्टेशन स्थापना गर्न प्राथमिकता दिइने उनको भनाइ थियो। यसका लागि दातृ निकायहरूसँग पनि सहकार्य भइरहेको उनले जानकारी दिए।
नेपालमा अहिले ३५०० मेगावाट बिजुली उत्पादन भए पनि १८०० देखि २२०० मेगावाट मात्रै खपत हुने गरेकोले ईभीका लागि पर्याप्त बिजुली उपलब्ध रहेको श्रेष्ठले बताए। गत वर्ष मात्रै चार्जिङ स्टेशन निर्माण र विकासमा १.७५ बिलियन रुपैयाँ लगानी गरिएको थियो।
उनले सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा पनि प्राधिकरण तयार रहेको बताए। “व्यवसायीहरूले चार्जर मात्र ल्याए पुग्छ, बाँकी पूर्वाधार हामी नै बनाउँछौँ,” उनले भने। यद्यपि, बिजुली आपूर्तिमा निरन्तरता दिनु चुनौती रहेको उनले स्वीकार गरे।
निर्देशक श्रेष्ठले साना ईभीको मात्र प्रयोग बढ्नुभन्दा ठूला सार्वजनिक यातायातका साधनहरू पनि ईभीमा रूपान्तरण हुनुपर्नेमा जोड दिए। यसले विद्युत् खपत बढाउनुका साथै यातायात क्षेत्रमा अन्य फाइदा पनि पुग्ने उनको भनाइ थियो।





























प्रतिक्रिया