काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटोमोबाइल क्षेत्रका लागि नीतिगत स्थिरता र पूर्वानुमानशीलता आवश्यक रहेको बताएका छन् ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा आज भएकाे ‘केन्द्रबिन्दु ईभी बज-पोलिसी डिस्कोर्स २०८२’मा उनले यस्ताे धारणा राखेका हुन् । उनले सरकारले युरो ६ मापदण्ड लागू गर्ने सन्दर्भमा सरोकारवालासँग पर्याप्त छलफल नगरेकोमा चिन्ता व्यक्त गरे ।
अध्यक्ष ढकालले युरो ६ लागू गर्नुको विरोध नगरे पनि यसले गाडीको मूल्य ३० देखि ४० प्रतिशतसम्म बढाउने जानकारी आफूले पाएको र यसको सीधा असर सार्वजनिक यातायात, सामान ढुवानी र निर्माण क्षेत्रमा पर्ने बताए । “हामी यस्ताे मूल्यवृद्धि कति धान्न सक्छौँ वा सक्दैनौँ, त्यो महत्त्वपूर्ण विषय हो,” उनले भने ।
अध्यक्ष ढकालले सीमामा आइपुगेका र उत्पादन भइसकेका सवारीसाधनलाई एक पटक आयात गर्न दिनुपर्नेमा जोड दिए । यसले उत्पादक कम्पनीहरूलाई हुने ठूलो घाटाबाट बचाउनुका साथै सरकारले करिब ३ अर्ब रुपैयाँ राजस्व घाटा व्यहोर्नुपर्ने अवस्थाबाट जोगिने उनको धारणा थियो। यस विषयमा आफूले प्रधानमन्त्रीसम्म समेत कुरा पुर्याइसकेको उनले बताए ।
उनले निजी सवारीसाधनको फाइनान्सिङलाई सहज बनाउने र कमर्सियल सवारीसाधनलाई पनि उचित सुविधा दिने नीति हुनुपर्नेमा पनि जोड दिए । यसले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने उनको भनाइ थियो।































प्रतिक्रिया