काठमाडाैं । आफूलाई जेनजीकाे लिडर मान्ने सुदन गुरूङकाे समूहले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी गरेको छ।
आफूहरूसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै गुरूङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन र नाराबाजी गरेको हो। ‘हामी फेरि सडकमा आयौं भने कसैले रोक्न सक्दैन। जुन ठाउँमा हामीले राखेका छौं। त्यहीँबाट थुतेर निकाल्छौं । ओमप्रकाश अर्याल, लयर.. उनले आफै गृहमन्त्री बनाउँदा रहेछन्, भित्र बसेर!,’ गुरूङले भनेका छन् ।
गुरुङ तिनै व्यक्ति हुन् जसले शुक्रबार राष्ट्रपति भवनमा आयोजित सपथ ग्रहण कार्यक्रमपछि प्रधानमन्त्री कार्कीको खुट्टा ढोगेका थिए । यो तस्विर निकै भाइरल भएको थियो ।
प्रधानमन्त्री कार्कीले आइतबार मात्रै तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छन् । अधिवक्ता ओमप्रकाश अर्याल गृह र कानुनमन्त्री, अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागिसकेकाे छ । आज उनीहरुकाे सपथ छ ।
यही भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछिका दिनमा जेनजी समूहले कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको माग गर्दै आएको थियो। लामो समय चलेको छलफलपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरे र आइतबार पदभार ग्रहण गरेकी थिइन् ।





























प्रतिक्रिया