काठमाडौं । जेन–जेड समूहको अगुवाइमा यही भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटबाट होटल हिल्टनसहित ठूलो व्यवसायिक क्षति भएको इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपले जनाएको छ।
इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक साहिल अग्रवालले संयुक्त विज्ञप्ति जारी गरी गहिरो दुःख व्यक्त गर्दै नेपालमा ठूलो जोखिम मोलेर लगानी गर्नु गल्ती थियो भनी प्रश्नसमेत गरेका छन्।
विभिन्न बाधा–अड्कनका बाबजुद ठूलो मिहिनेत र परिश्रमबाट सञ्चालनमा ल्याइएको अन्तर्राष्ट्रिय चेन होटल होटल खरानीमा परिणत भएकोमा उनीहरूले गहिरो शोक व्यक्त गरेका छन्।
यस घटनाले भौतिक क्षति मात्र नभई नेपालको व्यापारिक, पर्यटन र आर्थिक क्षेत्रमा पनि गम्भीर असर पुगेको बताइएको छ । विज्ञप्तिमा भनिएको छ, “नेपालमा यति ठूलो जोखिम मोलेर लगानी गर्नु के हाम्रो गल्ती थियो ? हाम्रो सारा मिहिनेत र सपनाहरूसँगै यस विशाल धरोहर खरानी भएबाट हामी विक्षिप्त भएका छौं।”
यसअघि पनि केही कुत्सित मनसाय भएकाहरूले होटलको विषयमा भ्रामक समाचार फैलाएको र त्यसैको शिकार होटल बनेको उनीहरूको भनाइ छ । यस घटनाले विदेशी पर्यटक मात्र नभई सारा संसारलाई नेपालको दारुण चित्र प्रस्तुत गरेको उनीहरूले बताएका छन् ।
यस संकटको घडीमा विचलित नभएको र आफ्नो व्यवसायलाई नयाँ शिराबाट सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनीहरूले नेपाल र नेपालीको लागि योगदान जारी राख्ने दृढ विश्वास व्यक्त गरेका छन्।
साथै विज्ञप्तिमा जेन–जेडका अगुवा सुदन गुरुङसँगको सम्बन्धलाई लिएर आएका खबरहरूको पनि खण्डन गरिएको छ। कोभिड महामारीका समयमा ‘हामी नेपाल’ नामक संस्थासँग मानवीय सेवाको उद्देश्यले सहकार्य गरेको र त्यस क्रममा सुदन गुरुङसँग चिनजान भएको उनीहरूले बताएका छन्। सोही समयमा कोरोना प्रभावितहरूलाई सहयोग गर्न ‘हामी नेपाल’ लाई परिचालन पार्टनरको रूपमा छनौट गरिए पनि त्यसयता उनी वा उनको संस्थासँग कुनै पनि सहकार्य नभएको र उनीहरूको राजनीतिक वा संस्थागत गतिविधिहरूसँग कुनै सरोकार नरहेको स्पष्ट पारिएको छ।





























प्रतिक्रिया