हिजो अस्तिसम्म किताब बेचिरहेका महावीर पुन अब शिक्षामन्त्री [भिडियो]

हिजो अस्तिसम्म किताब बेचिरहेका महावीर पुन अब शिक्षामन्त्री [भिडियो]

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् । उनले सोमबार शिक्षामन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहणसमेत गरिसकेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले पुन परिचित छन् । दुर्गम जिल्लामा ताररहित इन्टरेनट विस्तारमा योगदान पु-याएर अन्तर्राष्ट्रिय म्यागसेसे अवार्ड समेत पाएका पुनले पछिल्लोसमय वीरगन्जको कृषि औजार कारखाना पुनः सञ्चालनका लागि आफ्नै आत्मकथा रहेको पुस्तक देशभर पुगेर बेचिरहेका छन् । हालै पनि उनी आफ्नै आत्मकथा बेचिरहेका थिए, अब भने एक्कासी शिक्षामन्त्रीमा नियुक्त हुँदा नचाहँदा नचाहँदै आफू मन्त्री बन्नुपरेको बताएका छन् ।

पुनले लामो समयदेखि राष्ट्रिय आविष्कार केन्द्रमार्फत ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका करिब २ दर्जन क्षेत्रमा अनुसन्धान र इनोभेसनको काम निरन्तर गरेका छन् ।

नयाँ शिक्षामन्त्रीसँगै केशरमहलमा देखिएको फरक दृष्य

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन म्याग्दी जिल्लाको नाङी गाउँमा जन्मिएका हुन्। २०११ सालमा जन्मिएका उनले कक्षा ७ सातसम्म गाउँकै विद्यालयमा अध्ययन गरे । त्यसपछि चितवन पुगे । त्यहाँबाटै उनले बाँकी स्कुले पढाइ पूरा गरे । कक्षा १२ सम्म पढेपछि उनी १२ वर्ष शिक्षण पेसामा लागे । ३३ वर्षको उमेरमा महावीर अमेरिकाको नेब्रास्का विश्वविद्यालयमा छात्रवृत्तिमार्फत पढ्न गए । सन् १९८९ मा पुनले नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर हासिल गरे । पढाइ सकेर उतै बस्नेहरूको लहरलाई उछिनेर उनी भने २४ वर्षपछि आफ्नो गाउँ नाङ्गी फर्किए । हिमाञ्चल उमाविको स्थापनाबाट उनले गाउँमा अभियान अघि बढाए । सन् १९९२ मा उनी नेपाल फर्के र आफ्नो गाउँमा शिक्षा तथा प्रविधिको पहुँच विस्तार गर्ने काम सुरू गरे।

नेपाल फर्किएर उनी सामाजिक काममा सक्रिय भए । गाउँमा वातावरणीय काम, चिज उत्पादन कार्यक्रममार्फत म्याग्दीको पौद्वरका बासिन्दालाई आत्मनिर्भर बनाउने अभियान, शैक्षिक सुधार, कागज निर्माण, मौरी पालन, च्याउ खेती, लुगा बनाउने कामसँगै कम्युटर किनेर कम्प्युटर बनाउने तालिम जस्ता थुप्रै सफल प्रयास गरे ।

महावीरले गाउँमा वायरलेस टेक्नोलोजीमार्फत गाउँ गाउँमा इन्टरनेट पु-याउने कामले प्रसिद्धी पनि पाए । यहीकारण उनको ख्याती राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म फैलियो र उनको यही योगदानले उनलाई अन्तर्राष्ट्रिय म्यागसेसे अवार्ड समेत दिलायो ।

सन २००१ मा बीबीसीले उनको गाउँगाउँमा इन्टरनेटको पहुँच पु-याउने योजनालाई साकार गरिदिएको थियो । त्यसपछि युरोप र अमेरिकाका विभिन्न दाताहरूले पुनलाई आर्थिक सहयोग गरे । फलस्वरूप नाङ्गी र राम्चे आसपासका गाउँहरूमा ताररहित इन्टरनेट सपनाले सार्थकता पायो । सोही योगदानका लागि उनलाई एसियाको नोबेल पुरस्कार मानिने ‘रोमन म्यागसेसे पुरस्कार’ दिइएको थियो । त्यस्तै उनी ‘इन्टरनेट हल अफ फेम’, समग्र सामाजिक नवीनता पुरस्कार’, जोनाथन बी पोस्टल अवार्डजस्ता विभिन्न सम्मानद्वारा पुरस्कृत भइसकेका छन् । साथै, नेपाल सरकारले उनलाई २०७९ सालमा एक करोड रुपैयाँ राशीको भवन कीर्ति रत्न पुरस्कारबाट सम्मान गरेको थियो।

पुनले सन् २०१२ मा सूचना प्रविधि तथा इनोभेसनमार्फत देशमा योगदान गर्ने अभिप्रायका साथ राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरे । जहाँबाट उनले नयाँ पुस्ताहरू जन्माए, विभिन्न औजार, उपकरण बनाए, विभिन्न योजना बुने । देश कोभिड महामारीबाट गुज्रिरहेको बेलामा उनले स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग गरे । भेन्टिलेटरको अभाव खेपिरहेको समयमा अस्पतालमा बिग्रेका भेन्टिलेटरहरू निर्माणमा सघाउ पु-याए ।

पदभार ग्रहणपछि मन्त्री पुनले भने- मन्त्रालयमै बस्छु, आफैं पकाएर खान्छु

पछिल्लो समय उनी आफ्नो पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’को बिक्रीका लागि देश दौडाहा गरिरहेका थिए । पुस्तक बेचेर कमाएको पैसाले वीरगन्जमा ०५९ देखि बन्द अवस्थामा रहेको कृषि औजार कारखाना ब्युँताउनु थियो उनलाई । अहिले त्यो सञ्चालनमा पनि आइसक्यो । बाँकी मेसिन मर्मत र खरिदका लागि सरकारको ढोका ढकढकाए पनि उनले सहयोग पाएका थिएनन् । उनले सहयोग जुटाउन अवार्ड र मेडल पनि बिक्री गरे । उनको आत्मकथा भने पुनको अभियानलाई सघाउने हेतुले हजारौँ मानिसहरूले किनिदिए । धेरैले सामाजिक सञ्जालमार्फत नै उनको अभियानलाई समर्थन गरे र साथ दिए ।

पुनले हरेक वर्षको बजेटमा कम्तीमा १ प्रतिशत आविष्कार र अनुसन्धानको क्षेत्रका लागि विनियोजन गरिनुपर्ने मागसहित आन्दोलनसमेत गरेका थिए । उनको मागअनुरुप तत्कालीन सरकारले सहमतिसमेत गरेको थियो ।

यद्यपी आफुले पुस्तक बिक्री अभियान गर्दै गर्दा देशमा जेन–जी आन्दोलन भयो । त्यसपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । त्यही सरकारमा उनलाई आकस्मिक रुपमा शिक्षामन्त्री बनाइयो । शपथका लागि मन्त्रीको सपथ ग्रहण समारोहमा शितलनिवास पुगेका उनले कुनै पनि सुविधा नलिने घोषणा समेत गरेका छन् । उनले विज्ञान प्रविधिलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्दता व्यक्त गरेका छन् ।

लामोसमयदेखि नेपालको प्रविधि र विज्ञान क्षेत्रमा योगदान दिँदै आएका उनले अब भने आफ्नै क्षेत्रको नेतृत्व पाएका छन् र उनको हातमा शिक्षा मन्त्रालयको चाबी आएको छ । यद्यपी आफ्नै क्षेत्रमा नेतृत्व पाएका उनले आफ्नो कार्यकालमा के कस्तो परिवर्तन ल्याउँछन् त्यो भने हेर्न बाँकी नै रहेको छ ।

Logo