काठमाडौँ
प्रतिनिधिसभाको बैठक एक साता सम्म स्थगित भएको छ । संसद स्थगित भए पनि संसदीय समितिले संसदको कामलाई निरन्तरता दिने गर्दछ । संसद लामो समय सम्म स्थगित हुने र समिति पनि गठन नहुनुले संसद अनिर्णयको बन्दी बन्न पुगेको सत्ता पक्षका सांसद कृष्णभक्त पोखरेलले बताए ।
अबको संसद बैठकमा नेकपा चुप लागेर नबस्ने पनि उनले बताए । प्रतिनिधिसभाको बैठक साउन ११ गते सम्म स्थगित भएको छ । लामो समय स्थगित भएका कारण संसद्का सबै गतिविधि ठप्प जस्तै भएका छन् । संसद स्थगित भएपछि सभामुख कृष्णबहादुर महरा दुई दिनका लागि आफ्नो निर्वाचन जिल्ला दाङ पुगेका छन् ।
नेकपाका सांसद भानुभक्त ढकाल आफ्नो व्यक्तिगत कामका कारण शनिबार विराटनगर पुगेका छन् । सत्तापक्ष सांसदहरु व्यक्तिगत काममा उपत्यका बाहिर लागेका छन् भने प्रमुख प्रतिपक्ष कांग्रेसका सांसदहरु सरकार विरुद्धको आन्दोलनका लागि तयारीमा लागेका छन् ।
साउन १५ गते सम्मको सरकार विरुद्धको आन्दोलनका लागि कांग्रेस सांसद कोही जिल्ला फर्केका छन् भने कोही काठमाडौंमा विरोधमा उत्रन थालेको सांसद तथा पार्टी सचेतक पुष्पा भुषालले बताइन् । निषेधित क्षेत्र घोषणा गरेर जायज माग राख्न नदिएका कारण कांग्रेस प्रदर्शनमा उत्रिएको उनले बताइन् । ‘सबै जिल्लामा कांग्रेसको देशव्यापी विरोध कार्यक्रम भएकाले त्यसको तयारीका लागि जिल्ला जान आवश्यक भएका सांसदलाई जिल्ला पनि पठाइएको छ,’ उनले भनिन् ।
प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरू भने अति आवश्यक काम बाहेक अन्य काममा उपत्यका छाडेका छैनन् । संसदीय समिति गठन नभएका कारण संसद नहुँदा संसदको काम समितिबाट हुन सक्ने अवस्था पनि नहुनु र सरकारले संसद सचिवालयमा नयाँ विधेयक समेत दर्ता नगर्दा संसद सचिवालयमा कर्मचारीलाई समेत काम गर्न अप्ठ्यारो परेको सचिवालयका एक अधिकारीले बताए ।
नागरिकबाट































प्रतिक्रिया