चित्लाङमा सोलार लिफ्टिङबाट १०८ घरधुरी लाभान्वित

चित्लाङमा सोलार लिफ्टिङबाट १०८ घरधुरी लाभान्वित

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको थाहा नगरपालीका वडा न–९ चित्लाङ माझगाउमा सोलार लिफ्टिङ खानेपानी योजनाबाट १०८ घरधुरी लाभान्वित भएका छन् । सन फार्मर प्राली काठमाण्डौको प्रावधिक सहयोग र नेपाल वैकल्पिक उर्जा प्रवर्धन केन्द्र सरकारको अनुदान रु ३ लाख ५० हजार पाँच सय एकसठ्ठी र चित्लाङग माझगाउ थाहा ९ वडाबाट एक लाख रुपैयासहितको सहयोगबाट योजना सम्पन्न भएको हो । 

बाँकी रकम १ लाख तेत्तिस हजार सात सय सात रुपैया स्थानीयवासीले राख्ने र जनश्रमदान गरी कुल रु ५ लाख ८४ हजार २६९ को लागतमा उक्त खानेपानी योजना सम्पन्न भएको सातधारा खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजन बलामीले बताए । चालु आर्थिक वर्षको जेष्ठदेखि निर्माण सुरु गरिएको उक्त योजना २ महिनामा निर्माण सम्पन्न भएको हो ।

गाउँभन्दा मुनि रहेको १३० मिटर ठाडो तल रहेको सातधारा मुहानबाट दशवटा सोलार प्यानलमार्फत पानी लिफ्ट गरेर घरघरमा खानेपानी तथा करेसाबारी सिँचाई वितरण गरिएको हो । “गाउँभन्दा मुनि रहेको सातधारा मुहानवाट १३० मिटरमाथी 20 हजार लिटरको पानी सङ्कलन गर्ने ट्याङ्की थाहा नगरपालीकाको वजेटवाट निर्माण गरिएको छ”, चित्लाङग खानेपानी समितिका अध्यक्ष घतोकच बलामीले भने । 

गाउँभन्दा माथि अर्को दश हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी पानी सङ्कलन गर्ने गरिएको छ । ०७२ सालको भुकम्पको कारण पानीको मुहान लगभग १०० मिटर तल सरेकोले पानीको निकै समस्यामा रहेको उक्त बस्तीमा हाल प्रत्येक टोल टोलमा धारा निर्माण गरी दैनिक पानी वितरण गर्ने छ । “टाउकोमा नाम्लो, पिठ्यूँमा डोको बोकेर एक गाग्री पानीका लागि आधा घन्टाको समय खर्चनु पथ्र्यो”, स्थानीयवासी जुनी बलामीले भनिन्, “अहिले टोल टोलमा पानीको सहजता भएसँगै धेरै राहत भएको छ ।” खानेपानीको मुहान संरक्षण तथा समय समयमा मर्मत सम्भारका लागि कोष खडा गर्न प्रत्येक घरधुरीवाट महिनाको एकसय रुपैया उठाउने गरिएको राजन बलामीले बताए ।

Logo