कृषि उत्पादन बढाउन बगैँचा व्यवस्थापनमा जोड

कृषि उत्पादन बढाउन बगैँचा व्यवस्थापनमा जोड

केन्द्रबिन्दु
9
Shares

गण्डकी। पोखरा महानगरपालिका–३१ खनास्वारामा रहेको कागती बगैँचाको बागवानी विकास स्रोत केन्द्र मालेपाटनको प्राविधिक टोलीले स्थलगत अनुगमन गरी बगैँचा व्यवस्थापनमा जोड दिएको छ ।

टोलीले फार्मको बगैँचा व्यवस्थापन समग्र रूपमा सन्तोषजनक देखिए पनि गुणस्तरीय र उत्पादकत्व वृद्धिका लागि नियमित निगरानी र उचित कृषि प्रविधिको प्रयोग आवश्यक रहेको सुझाव दिएको छ । अनुगमनका क्रममा टोलीले कागती बगैँचामा कत्ले कीराको प्रकोप देखिएको र यसले उत्पादनमा दीर्घकालीन असर पार्न सक्ने भएकाले समयमै उपचार र जैविक कीट व्यवस्थापन विधि अपनाउन सुझाव दिएको छ ।

बागवानी विकास स्रोत केन्द्र कृषि व्यवसाय प्रवद्र्धन प्रशिक्षण तथा स्रोत केन्द्र मालेपाटनका बरिष्ठ बागवानी अधिकृत सोनी रानाले फलफूल बगैँचा व्यवस्थापनमा जोड दिन सकेमात्र दिगो उत्पादन लिन सकिनेमा जोड दिए । “यो समय बोटबिरुवाको काँटछाँट र बगैँचा सरसफाइमा ध्यान दिनु अपरिहार्य छ”, उनले भने, “कागतीको बोटमा सुकेका र बढी भएका हाँगा समयमै हटाइएन भने विभिन्नखाले रोगको प्रकोप बढ्नुका साथै उत्पादनमा कमी आउने छ ।”

बगैँचामा झरेका तथा कुहिएका कागतीका फलले रोग निम्त्याउने खतरा बढ्ने हुँदा त्यस्ता फललाई समयमै व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड थियो । आठ वर्षअघि झाडी फाडेको भिरालो पाखोमा लगाएका पाँच सय सोना जातका कागतीका बिरुवाले चार वर्षदेखि निरन्तर उत्पादन दिन थालेको र वार्षिक रु १५ लाखभन्दा बढी आम्दानी गर्दै आएको फार्म सञ्चालक टुकाराम लामिछानेले जानकारी दिए ।

यस वर्षको भदौ, असोज र कात्तिक तीन महिनामै कागती बिक्रीबाट रु नौ लाख आम्दानी गरेको बताउँदै लामिछानेले आजका मितिसम्म सरकारीस्तरबाट कुनै पनि सेवासुविधा उपलब्ध नभएको दुखेसो सुनाउनुभयो । यतिखेर बजारमा कागती प्रतिकिलो रु दुई सयदेखि रु दुई ५० का दरले बिक्री भइरहेको छ ।

पैसठ्ठी वर्षको उमेर पनि युवा जोशका किसान लामिछाने भन्नुहुन्छ, “परम्परागत खेती प्रणाली अपनाउँदा बाँदर र अन्य जङ्गली जनावरले नष्ट गर्न थालेपछि विकल्पका रूपमा सुरु गरेको व्यावसायिक कागतीखेती पछिल्लो समय मुख्य आम्दानीको स्रोत बनेको छ ।”
एलसी अग्र्यानिक कृषि फार्म दर्ता गरेर सुरु गरेका उनको निजी २६ रोपनी जग्गामा कागतीसँगै अन्तरबालीका रूपमा तरुल, खकबरे खुर्सानी, टिमुर, अमला, ओल, आभोकाडो, अम्बा, सुन्तला, ज्यामिर, निबुवा, ठूलो बयर, रातो केरा, हर्रो, मेकानियानटजस्ता विभिन्न जातका फलफूलका बिरुवा समेत फस्टाएका छन् । सो अवसरमा कागतीको उन्नत जात र रोगसँग लड्ने सक्ने क्षमता भएको बिरुवा उत्पादनका लागि आवश्यक नमूनासमेत सङ्कलन गरिएको टोलीमा संलग्न स्रोत केन्द्र बाली संरक्षण अधिकृत सुष्मा मरहठ्ठाले जानकारी दिए।

Logo