दुईसय वर्षअघिको युद्ध इतिहास खोजी गर्दै निर्माण गरिएको ‘निशान पदमार्ग’ मा यात्रा हुँदै

दुईसय वर्षअघिको युद्ध इतिहास खोजी गर्दै निर्माण गरिएको ‘निशान पदमार्ग’ मा यात्रा हुँदै

केन्द्रबिन्दु
24
Shares

फिक्कल। नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाँडिएका निशान फर्काइएको ‘निशान पदमार्ग’ प्रवद्र्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा हुने भएको छ । सोमबार सूर्योदय नगरपालिकामा भएको सम्बन्धित तीन पालिका र इलामस्थित नेपाली सेनाको रणसार्दुल गणको संयुक्त बैठकले यही पुस २३ देखि २६ गतेसम्म पदयात्रा गर्ने निर्णय गरेको हो ।

सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माईजोगमाई गाउँपालिका र रणशार्दुल गणले संयुक्त रूपमा पदयात्राको तयारी गरेका सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए । गत वर्षदेखि सुरु गरिएको पदयात्रा यसपटक पनि निरन्तरता दिन लागिएको उनको भनाइ छ ।

“करिब २०० वर्षअघिको युद्ध इतिहास खोजी गर्दै निर्माण गरिएको निसान पदमार्गमा गत वर्षदेखि पदयात्रा सुरु गरेका थियौँ”, नगरप्रमुख राईले भने, “सरोकार भएका निकायबाट सकरात्मक प्रतिक्रिया आएको थियो । यसपटक पनि त्यसलाई निरन्तरता दिन लागेका हौँ ।”

इलाम नगरप्रमुख केदार थापाले पदयात्राले निसान पदमार्गको मात्र नभई, समग्र इलामको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण तथा प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको बताए। “पदयात्राले निसान पदमार्गको संरक्षणमा योगदान दिनका साथै समग्रमा इलामको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउनेछ”, उनले भने।

पदयात्राका लागि तीनवटै पालिकाबाट आर्थिक सहकार्य हुने इलाम नगरप्रमुख केदार थापाले बताए । कोशी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०८२ लाई जोडेर पदयात्रा कार्यक्रम आयोजना गरिने उनले उल्लेख गरे। पदयात्रामा मेची पर्यटन कार्यालयको सहकार्य हुने उनले बताए ।

नेपाल–भारत सीमाना जोडिएको मेची नदीको मुहानबाट इलाम सदरमुकामस्थित निसान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गमा पदयात्रा गरिने रणशार्दुल गणका प्रमुख प्रह्लाद घलेले जानकारी दिए । उनका अनुसार तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धीपछि फर्काएर राखिएका स्थानलाई जोडेर पदयात्रा तयारी गरिएको हो ।

चार दिनको पदयात्रा नेपाल–भारत सीमाक्षत्रेको मेची बजारबाट औपचारिक थालनी हुनेछ । पुस २६ गतेसम्म नेपाली सेना, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालको २०० जनाको टोलीले पदयात्रा गर्ने घलेले जानकारी दिए ।

पदमार्गअन्तर्गत पर्ने सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाका विभिन्न स्थानमा पदयात्रीको स्वागतका लागि स्थानीय जाजातिको झाँकीसहित स्वागतका कार्यक्रम तय गरिएको घलेले बताए । पदयात्राका लागि तीनवटै पालिकाको विभिन्न ठाउँमा हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता, सांस्कृतिक कार्यक्रम साथै कार्यपत्रमाथि छलफललगायत कार्यक्रम हुनेछन् ।

रणशार्दुल गणको पहलमा २०८१ देखि निसान पदमार्ग पहिचान गर्न थालिएको थियो । त्यसका लागि सूर्योदय नगरपालिका, माईजोमगाई गाउँपालिका र इलाम नगरपालिकाले सहयोग गरेको थियो ।

नेपाल–अङ्ग्रेज युद्धपछि विसं १८७२ फागुन २० गते भएको सुगौली सन्धिपश्चात् तत्कालीन नेपाले सेनाले इलाम सदरमुकाममा निसान ल्याउन प्रयोग गरिएको मार्गलाई नेपाली सेनाको समन्वयमा तीन पालिकाले पहिचान गरी कार्यन्वयनमा ल्याएको हो ।

यसअघि भारतको नागरीगडीबाट नेपाल–भारत सीमाक्षेत्र सात माईल मेची मुहान, सिद्धीखोला, गैरीगाउँ, रम्फोक, नयाँचोक, जोगमाईखोला, हात्तिटार, माइबेनी, तिल्केनी हुँदै माईस्थान मन्दिरसम्मको जिआइएस नक्सा तयारी गरी सार्वजनिक गरिएको थियो ।

सुगौली सन्धीपछि मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथसिंह पल्टन अहिलेको इलाम सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बसेको इतिहास छ । मेचीबाट नागरीगढी हुँदै टिस्टासम्मको भूभाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो । सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम करफोक ल्याएका थिए ।

पूर्णेडाँडा भारतीय सीमा नजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्नसक्ने भएकाले मुकाम खडा गर्नेक्रममा माइजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलाम नगरपालिका–७ स्थित माइस्थान मन्दिर ल्याइएको थियो । माईस्थान मन्दिर विसं १८८० स्थापना भएको अनुमान छ । हाल निसान सोही मन्दिरमा संरक्षण गरी राखिएको छ ।

Skip This
Skip This
Logo