एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइन -अध्यक्ष ओली

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइन -अध्यक्ष ओली

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो पार्टीभित्र बस्न अनुशासन प्रमुख रहेको बताएका छन् । ११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले मतपरिणामलाई स्वीकार गरेर पार्टी अघि बढेको बताएका हुन् ।

‘पार्टीमा आँच आउने कुनै पनि काम नहुन् । हामी सुदृढ अनुशासनमा बस्छौं । अनुशासन मानव हुनुको नाताले, सामाजिक प्राणी हुनुको नाताले अनिवार्य छ । मानव जातिको झुन्डहरू समाजमा बस्न थालेपछि अनुशासनमा बाँधिन थालेको हो। अनुशासनमा बाँधिएन भने त्यो समाज हुँदैन’ उनले भने, ‘राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन । यस्तो पार्टीमा दृढ विश्वास चाहिन्छ । हाम्रो पार्टी लोकतान्त्रिक हो ।’

जारी बैठकमा ओलीले सम्बोधन गर्दै गर्दा एक जना नेताको मोबाइल फोन बजेपछि ओलीले आपत्ति जनाउँदै हकारे । उनले भने, ‘म अनुशासनकै कुरा गरिरहेको छु । बैठकभित्र मोबाइल बज्नुहुँदैन ।’

त्यस्तै, अध्यक्ष ओलीले एमालेमा आलोचनात्मक हराएकाहरू बस्छन् भनेर बाहिर हल्ला फैलाइएको पनि बताए । ‘आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्छन् । खोई बोलेका? भन्छन् । केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैनन् त के प्रश्न गर्ने?’ ओलीले भने, ‘हामी यस्तो कुराबाट प्रभावित हुनुहुँदैन ।’

उनले चुनावमा लड्दा प्यानल बने पनि अहिले निर्वाचित भइसकेपछि प्यानल र गुट एमालेमा नभएको पनि बताए ।

‘हिजो चुनावमा लड्दा प्यानल भएर लडियो होला, स्वतन्त्र भएर लडियो होला । त्यो हिजै सकियो,’ उनले भने, ‘अब एमालेको केन्द्रीय कमिटीमा हामी छौँ । यो प्यानल र त्यो प्यानल होइन यो देश हाँक्ने एमालेको एकढिक्का हो । यो–त्यो प्यानल छैन ।’

Logo