म्याग्दी । म्याग्दीको ग्रामीण बस्ती दरवाङबाट अन्तरिक्ष विज्ञानको विश्वस्तरीय अनुसन्धानसम्मको यात्रा तय गर्दै सुजन गौतमले अन्तरिक्ष विज्ञानमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन् ।
मालिका गाउँपालिका–६ दरवाङका गौतमले अमेरिकाको अलाबामा राज्यस्थित ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिल’बाट पीएचडी पूरा गरेका हुन् । उनको अनुसन्धान पृथ्वीनजिक देखिने सौर्यवायुका चक्र, त्यसमा उत्पन्न हुने अस्थिरता र अन्तरग्रहीय झट्काले अन्तरिक्ष वातावरणमा पार्ने प्रभावमा केन्द्रित छ ।
गौतमले विश्वप्रसिद्ध अन्तरिक्ष वैज्ञानिक प्रा. डा. ग्यारी जैंकको निर्देशनमा ‘सेन्टर फर स्पेस प्लाज्मा एण्ड एरोनमिक रिसर्च’मा रहेर अध्ययन सम्पन्न गरेका हुन् । अध्ययन अवधिमा उनले अन्तरराष्ट्रिय वैज्ञानिक जर्नलहरूमा अनुसन्धानपत्र प्रकाशन गर्नुका साथै विभिन्न वैज्ञानिक सम्मेलनमा आफ्ना निष्कर्ष प्रस्तुत गरेका छन् ।
सानैदेखि सूर्य र अन्तरिक्षमा हुने गतिविधिले पृथ्वीमा पार्ने प्रभावप्रति चासो राख्दै आएका गौतमले सौर्यवायु, अन्तरिक्ष मौसम र सौर्य आँधीका जटिल पक्षहरू बुझ्ने उद्देश्यले यो क्षेत्रमा अनुसन्धान गरेको बताए । उनका अनुसार सूर्यसँग सम्बन्धित अनुत्तरित प्रश्नहरू बुझ्न विश्वभरका वैज्ञानिकहरू सक्रिय छन् ।
त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातक र स्नातकोत्तर गरेका गौतम सन् २०२२ मा पूर्ण छात्रवृत्तिमा अमेरिकाको अन्तरिक्ष विज्ञान विभागमा अध्ययनका लागि गएका थिए । हाल उनी त्यही विश्वविद्यालयको अनुसन्धान केन्द्रमा अनुसन्धान सहायकका रूपमा कार्यरत छन् ।
यसअघि गौतमको नेतृत्वमा नेपाली अनुसन्धान टोलीले पोखरा र काठमाडौँको पाँच दशकभन्दा लामो वर्षा तथ्याङ्कलाई सौर्य गतिविधिसँग तुलना गरी अध्ययन प्रतिवेदन प्रकाशन गरिसकेको छ । अन्तरिक्ष विज्ञान र सौर्यवायु सम्बन्धी अनुसन्धानलाई निरन्तरता दिने उनको योजना छ ।





























प्रतिक्रिया