नेकपा र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदै

नेकपा र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदै

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज औपचारिक एकता हुँदैछ। चुनावी सरगर्मी बढिरहेका बेला सायमीले पार्टी परिवर्तन गर्दै नेकपासँग हातेमालो गर्न लागेका हुन् ।

सायमी नेतृत्वको समूह नेकपासँग एकताका लागि आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा एकता सभाको आयोजना गरिएको छ । राष्ट्रिय मुक्ति पार्टी नेपालबाट विद्रोह गरेका सायमीले अन्ततः वाम धार समातेका हुन्।

आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सायमी नेकपाबाट काठमाडौं क्षेत्र नम्बर ८ मा उम्मेदवार बन्ने तयारीमा छन्। चुनावको मुखैमा भएको यो एकताले विपक्षी दलहरूलाई रणनीति पुनरावलोकन गर्न बाध्य बनाएको छ ।

२०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका सायमीले १३ हजार ७७० मत पाएका थिए। चुनावपछि उनी स्वतन्त्र तथा वैकल्पिक राजनीतिक धार निर्माणको अभियानमा सक्रिय थिए।

त्यसपछि सायमीले २०७९ कै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि प्रतिस्पर्धा गरे। तर राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भए। उक्त निर्वाचनमा सायमीले ६ हजार १७९ मत प्राप्त गरेका थिए।

पछिल्लो समय उनी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा थिए । तर पार्टीको दिशा र रणनीतिसँग असन्तुष्टि जनाउँदै उनले विद्रोहको बाटो रोजेपछि नेकपासँग एकता तय भएको हो।

५२ वर्षीय सायमी काठमाडौं कालीमाटीका स्थायी बासिन्दा हुन्। काठमाडौंका रैथाने समुदायबीच उनको प्रभाव र पहिचान बलियो मानिन्छ । रैथाने अधिकार, संस्कृति संरक्षण र स्थानीय मुद्दामा निरन्तर आन्दोलन गर्दै आएका थिए ।

Logo