विराटनगर। माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनियाहरू चिन्तित छन्। जाडो सुरु भएसँगै व्यस्त हुने पेशा यस वर्ष काम नपाउँदा पीडादायी बनेको छ।
स्थानीय जनपथटोलमा अस्थायी बसोबास गर्दै आएका महमद इस्लाम विगत २३ वर्षदेखि धुनियाको काम गर्दै आएका छन्। यही पेशाबाट पाँच जनाको परिवार पाल्दै आएका उनले ग्राहक घटेपछि बिहान–बेलुकाको छाक टार्नसमेत गाह्रो भएको बताएका छन्। “पहिले जाडो सुरु भएसँगै दैनिक चार सयदेखि एक हजार ५०० रुपैयाँसम्म कमाइ हुन्थ्यो। तर यस वर्ष पुस आधा बितिसक्दा पनि अर्डर शून्य छ। यसरी त यो पेशाले अब खानै धान्न गाह्रो हुने देखियो।”
इसी प्रकार, रफिक सेख पनि धुनियाको कामबाट परिवार पाल्दै आएका छन्। उनका अनुसार, अब उनका छोरालाई यो पेशामा लगाउने सोच छैन, सधैँ काम गर्न सक्ने अरु पेशा सिकाइनेछ।
धुनियासँग जोडिएका व्यापारी पनि चिन्तित छन्। विगतका वर्षहरूमा मङ्सिरको दोस्रो सातादेखि नै सिरक–डस्नाको कारोबार बढ्ने गरेको भए पनि यस वर्ष माघ लागिसक्दा पनि माग शून्य छ। बाटारोडस्थित जगदम्बा वस्त्रालयका व्यवसायी दुर्गादत्त अग्रवालका अनुसार पहिले जाडोमा रेडिमेड सिरक ‘स्टक’ गरेर राखिन्थ्यो, अहिले ग्राहक देखाउनका लागि मात्र केही सिरक राख्नुपर्ने अवस्था आएको छ।
महावीररोडस्थित शिवम् इम्पोरियरका व्यवसायी विशाल शाहले भने, “हामी गार्मेन्टका कतरनलाई पेलेर बनाएको फ्रेस कपास प्रयोग गर्छौँ, त्यसैले गुणस्तर राम्रो हुन्छ। तर माग घट्दा व्यापार संकटमा परेको छ । एक सिरक बनाउन चार–पाँच केजी कपास लाग्छ, मूल्य रु एक हजारदेखि आठ हजारसम्म, डस्ना रु छ सयदेखि चार–पाँच हजारसम्म पर्छ।”
व्यापार घट्दा धुनियाको परम्परागत पेशा मात्र नभई स्थानीय कपास, साना व्यवसाय र श्रमिकको जीविकोपार्जनमा समस्या देखा परेको छ ।





























प्रतिक्रिया