पर्वत समाजमा नयाँ नेतृत्व निर्वाचित, ‘पर्वत चिनारी’ विमोचन, चार व्यक्तित्व सम्मानित

पर्वत समाजमा नयाँ नेतृत्व निर्वाचित, ‘पर्वत चिनारी’ विमोचन, चार व्यक्तित्व सम्मानित

केन्द्रबिन्दु
201
Shares

निर्मल पौडेल,पर्वत। पर्वत समाजको पहिलो वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ। यस अधिवेशनले समाजको नयाँ नेतृत्व तय गर्दै गणेश शर्मालाई अध्यक्षको रूपमा निर्विरोध चयन गरेको छ ।

अध्यक्ष गणेश शर्मासँगै उपाध्यक्षमा फलेवास–७ का इश्वरी पन्त, महासचिवमा कुश्मा–१३ का टीकाराम कार्की, कोषाध्यक्षमा फलेवास–४ का सुरेन्द्र तिवारी र सचिवमा कुश्मा–३ का अशोक पौडेल निर्वाचित भएका छन्। यसैगरी सदस्यको रूपमा विभिन्न पालिकाबाट सात जना प्रतिनिधि चयन गरिएको छ । सदस्यहरूमा मोदी गाउँपालिका वडा नं ५, बाजुङका बन्दना ढकाल, मोदी ७ राम्जाका प्रकाश गौतम, कुश्मा ४ का रामचन्द्र श्रेष्ठ, जलजला गाउँपालिका ४ का मनिष सुवेदी, फलेवास नगरपालिकाका ७ का गोपाल प्रसाद पौडेल, महाशिला गाउँपालिकाका भीमप्रसाद शर्मा र बिहादी गाउँपालिकाका प्रकाशकुमार पाण्डे चुनिएका छन् ।

उक्त अधिवेशनमा नयाँ प्रकाशन ‘पर्वत चिनारी’ पनि विमोचन गरिएको थियो। पुस्तकले पर्वत राज्यको इतिहास, वर्तमान संघीय संरचना, चुनौती र सम्भावनासँग सम्बन्धित विभिन्न लेख समेटेको छ। विमोचन राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना र समाजका अध्यक्ष गणेश शर्माले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा चार व्यक्तित्वलाई सम्मान गरिएको थियो। यसमा प्रा.डा. तेजबहादुर सिंह महतलाई पर्वत विशिष्ट व्यक्तित्व सम्मान, भोलानाथ शर्मालाई पर्वत शिक्षा सेवा सम्मान, टेकबहादुर जिसीलाई पर्वत समाज सेवा सम्मान र विनोद भुसाललाई कृषि तथा उद्यम सम्मान प्रदान गरिएको थियो।

सम्मान प्रक्रिया निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन निर्वाचन आयोगका पुर्व आयुक्त नीलकण्ठ उप्रेतीको संयोजकत्वमा उच्च अदालतका पूर्वन्यायाधीश जगतनारायण प्रधान र नेपाली सेनाका पूर्व उपरथी देवेन्द्र मेघासी सदस्यको रूपमा समिति गठन गरिएको थियो। समाजका सदस्य अशोक पौडेलका अनुसार सम्मानित हुने व्यक्तिको छनोट सम्बन्धित पालिकाको सिफारिस र जिल्लामा योगदानको मूल्याङ्कनको आधारमा गरिएको हो।

सभामा पर्वत जिल्लाबाट काठमाडौं आएका ३०० भन्दा बढी पर्वतेलीले सहभागिता जनाएका थिए। यस अवसरमा आगामी प्रतिनिधि सभा चुनावमा भाग लिन लागेको उम्मेदवार पदम गिरी (एमाले), अर्जुन जोशी (कांग्रेस) र मनहरी तिमिल्सिना (नेकपा)ले आफ्नो उम्मेदवारी र चुनावी एजेन्डा सम्बन्धमा छोटकरीमा जानकारी दिएका थिए।

समाजका अधिकारीहरूका अनुसार नयाँ कार्यसमितिको नेतृत्वमा निर्वाचित भएसँगै समुदायको संगठनात्मक क्षमता बलियो हुने, पर्वतको सांस्कृतिक, शैक्षिक र कृषि विकासतर्फ ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ। साथै, ‘पर्वत चिनारी’ प्रकाशनले समुदायभित्र जानकारीको पहुँच र पहिचानलाई थप सुदृढ पार्ने विश्वास गरिएको छ।

Logo