काठमाडौं । जेनजी आन्दोलनको इपिसेन्टर अर्थात् संसद भवन, सिंहदरवार लगायतका महत्वपूर्ण निकाय रहेको काठमाडौं क्षेत्र नंबर १ मा चुनावी सरगर्मी अपत्यारिलो ढंगले बढेको छ । २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा चुनावी गतिविधिहरू तीव्र भएका छन्।
काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा कुल २५४ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नं. १ मा सबैभन्दा धेरै उम्मेदवारी दर्ता भएको छ । यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर १०, ११, २९ र ३१ वडाहरु रहेका छन् । क्षेत्र निर्धारण र २०४८ यता क्षेत्र बढेसँगै केही यताउता भए पनि २०४८ सालमा तत्कालीन एमाले महासचिव मदन भण्डारीले रोजेको ऐतिहासिक जित निकालेको क्षेत्रका रुपमा चिनिन्छ ।
काठमाडौँ–१ संसदीय निर्वाचन क्षेत्र नेपालको राजनीतिक इतिहासमा सधैँ चर्चामा रहँदै आएको क्षेत्र हो । २०४८ सालदेखि हालसम्म भएका संसदीय तथा संविधानसभा निर्वाचनहरू हेर्दा यो क्षेत्रले देशका चर्चित र प्रभावशाली नेताहरूलाई संसदमा पठाएको देखिन्छ । २०४८ सालको पहिलो आमनिर्वाचनमा काठमाडौँ–१ बाट नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी विजयी भएका थिए । मदन भण्डारीको निधनपछि २०४९ सालमा भएको उपनिर्वाचनमा विद्यादेवी भण्डारी निर्वाचित भइन्। त्यसपछि २०५१ सालको निर्वाचनमा एमालेकै मनमोहन अधिकारीले यस क्षेत्रको प्रतिनिधित्व गरे । २०५६ सालको आमनिर्वाचनमा पनि काठमाडौँ–१ बाट प्रदीप नेपाल (एमाले) विजयी भए, जसले २०४८ देखि २०५६ सम्म यो क्षेत्र एमालेको बलियो आधार क्षेत्रको रूपमा चिनिएको पुष्टि गर्छ।
२०६४ सालको संविधानसभा निर्वाचनसँगै भने काठमाडौँ–१ को राजनीतिक समीकरण परिवर्तन भयो। उक्त निर्वाचनमा नेपाली काँग्रेसका प्रकाशमान सिंह विजयी भए। त्यसयता २०७० को संविधानसभा निर्वाचन, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा समेत प्रकाशमान सिंह निरन्तर निर्वाचित हुँदै आएका छन् ।
२०६४ साल यता निरन्तर कांग्रेसले जिते पछि एमालेले यो स्थानलाई महत्व दिएन । कहिले प्रकाशमानलाई सहज हुने उम्मेदवारी दियो त कहिले विरासत भुलेर चलचित्र क्षेत्रका नायक राजनीति र एमाले नचिनेका भुवन केसीसम्मलाई उम्मेदवार बनायो । र पछि उम्मेदवार समेत परिवर्तन गर्याे । २०६४ सालमा सम्म लगातार जित्दै आएको एमालेले पहिलो संविधान सभाको चुनावमा प्रदिप नेपाल भारी मतले दोस्रो भएसँगै २०७० को विद्या न्यौपाने चौथो स्थानमा झरिन् ।
२०७४ को निर्वाचनमा काठमाडौंमा एमाले माओवादी एकता हुँदा पनि महत्व नपाएको यस क्षेत्रमा अनिल शर्मा उम्मेदवार बने । उनी पनि तेस्रो हुन पुगे भने २०७९ को निर्वाचनमा एमालेबाट एमाले अध्यक्ष ओलीका विश्वास पात्र युवा संघका तत्कालीन अध्यक्ष किरण पौडेल पनि जम्मा ३५३२ मत ल्याएर चौथो भएका थिए ।
यसपालीको निर्वाचनमा नेपाली कांग्रेसका प्रकाशमान सिंह प्रतिस्पर्धामा छैनन् । उनको ठाउँमा प्रबल थापा क्षेत्रीलाई कांग्रेसले उम्मेदवार बनाएको छ । एमालेबाट मोहन रेग्मी, राप्रपाका रवीन्द्र मिश्र तेस्रोपटक प्रतिस्पर्धामा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले रञ्जु दर्शनालाई उम्मेदवार बनाएको छ ।
मुख्यतः यी तीनै उम्मेदवारहरु बिच हुने प्रतिस्पर्धामा अघिल्लोपटक जस्तो धेरै उम्मेदवारहरुमा मत छरिने देखिंदैन । निर्वाचित हुन चाहे उम्मेदवारले कम्तीमा पनि अघिल्लो निर्वाचनका प्रतिस्पर्धीहरुले भन्दा बढी मत ल्याउनुपर्ने देखिन्छ ।
२०६४ साल यताको विरासत जोगाउने दबाबमा कांग्रेस छ भने रवीन्द्र मिश्र तेस्रो पटक सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो चुनावमा मात्र १२५ मतले पराजित भएका मिश्र राप्रपाबाट उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रञ्जु न्यौपाने (दर्शना) उम्मेदवार छिन् । अघिल्लो पटक रास्वपा यो क्षेत्रमा तेस्रो भएको थियो ।
यस पटक एमालेले विरासत फर्काउने भन्दै मोहन रेग्मीलाई उम्मेदवार बनाएको छ । रेग्मी एमालेका पुराना र भरपर्दा कार्यकर्ता हुन् । ‘होलटाईमर’ राजनीतिसँगै पेशा व्यवसायमा आवद्द रेग्मीको काधमा २०७९ को चुनावमा चौथो स्थानमा खुम्चिएको एमालेलाई विजयी गराउने जिम्मेवारी आएको छ ।
एमाले नेता/कार्यकर्ताहरुको बाहुल्य क्षेत्र रहेको यस क्षेत्रमा रेग्मी एमालेले असन्तुष्ट मतदाताहरूलाई फकाउने र विकासका ठोस योजनाहरू र विरासतको भाव बुझाउँदै मत माग्दै घरदैलो गर्दैछन् । स्थानीय तह र प्रदेशमा जित निकालेको एमालेलाई एकताबद्ध र प्रतिबद्ध उम्मेदवार हुँदा जित निस्कनेमा एमाले कार्यकर्ता ढुक्क देखिन्छन् ।
कांग्रेसमा आन्तरिक विवादका कारण चार पटक जितेका सांसद मैदानमा नहुनु, अघिल्लो चुनावमा राप्रपाको देशव्यापी माहोल भएर राम्रो मत पाएका रविन्द्र मिश्र यसपटक धेरै विवादमा तानिएका कारण पनि उनी केही ओझेलमा परेका छन् भने रास्वपाले पनि अघिल्लो पटकका उम्मेदवार नभई रविन्द्र मिश्रसँग सहकार्य गरेर उज्ज्ल थापाको पार्टीमा काम गरेका रञ्जु उम्मेदवार बनेका कारण एकताबद्द भएर लागे यो क्षेत्र एमालेले जित्ने राजनीतिक बिश्लेषण रहेको छ ।
२०४६ सालदेखि यहि क्षेत्रमा बसोबास गरेका र २०४८ साल यताका सबै चुनावमा एमाले उम्मेदवारसँगै सधैं सक्रिय रहेका पूर्वनेपाल अडिटर्स एशोसिएसन (अडान) अध्यक्ष समेत रहेका उनी २०६४ पछि गुमाएको विरात फर्काउनेमा ढक्क छन् ।
लामा भाषण भन्दा पनि काममा विश्वास गर्ने र बोलेको कुरा पुरा गर्नुपर्छ भन्ने मान्यता राख्ने रेग्मी उम्मेदवारको रुपमा आएसँगै कार्यकर्ता उत्साहित देखिएका छन् । आफ्नै घरआँगनमा रहेको संसद भवन, सिंहदरवार र सर्वोच्च अदालतलगायत जल्दा आफू कैयौं दिन सुत्न नसकेको एवं जेनजी भाईबहिनीका जायज मागलाई भने सम्बोधन गर्दै देश अगाडि बढ्नु पर्ने रेग्मीको भनाई छ ।





























प्रतिक्रिया