खोटाङ। खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले गति लिएको छ । ठेकेदारको लापरवाहीका कारण लामो समयसम्म अलपत्र परेको पुल निर्माणले गति लिएसँगै दक्षिणी क्षेत्रका नागरिकमा आशा जागेको छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहापोखरी गाउँपालिका–२ सुन्तले र छिमेकी जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाटस्थित सुनकोशी नदीमा २०० मिटर लामो पुल निर्माणका लागि २०७३ साल असार ३० गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । नौ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पुल अलपत्र हुँदा दक्षिणी क्षेत्रका नागरिक निराश भएका थिए ।
२०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेको धाप्लाङघाट मोटरेबल पक्की पुलका लागि स्ल्याब ढलानको काम सुरु गरिएको छ । २०७६ सालमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यसहित सम्झौता भए पनि निर्माण कम्पनीमा आबद्ध ठेकेदारको लापरवाहीका कारण काम अलपत्र परेको हो ।
ठेकेदारको लापरवाहीले अलपत्र परेको पुल निर्माणका लागि खोटाङ प्रदेशसभा क्षेत्र नं २ का सदस्य तथा कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले निरन्तर दबाब दिएपछि अहिले पुल निर्माणले तीव्रता लिएको स्थानीयवासीले बताएका छन् । सङ्घीय सरकारको २१ करोड ६५ लाख रुपैयाँ लागतमा स्वच्छन्द–रसुवा–पप्पु जेभीले निर्माणको जिम्मा लिएको पुल अलपत्र परेपछि लिड कम्पनी स्वच्छन्द निर्माण कम्पनीलाई कालोसूचीमा राखी धरौटी रकम जफत गरिएको थियो । त्यसपछि ज्वाइन्ट भेन्चरमा संलग्न रसुवा कन्स्ट्रक्सन प्रालिले निर्माणको काम सुरु गरेको हो ।
विभिन्न कठिनाइका बीच पुल निर्माणको काम पुनः सुरु गराउन सफल भएको राईले बताए । धाप्लाङघाट पुलमा पाँचवटा स्ल्याब रहने र हाल एउटा स्ल्याब ढलान भइसकेको जानकारी दिँदै उनले यस वर्ष कम्तीमा तीनवटा स्ल्याब ढलान सम्पन्न गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको बताए । पुल सञ्चालनमा आएपछि खोटाङको समृद्धिको यात्रा सुरु हुने भन्दै यसतर्फ निर्वाचित जनप्रतिनिधिले ध्यान दिनुपर्ने उल्लेख गरे ।
पछिल्लो पटक थपिएको म्यादअनुसार २०८४ साल जेठ १९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्नेछ । निर्माण कम्पनीका अनुसार २०८३ चैतभित्र धाप्लाङघाटबाट सवारीसाधन वारपार गराउने लक्ष्यसहित काम भइरहेको छ ।
सडक विभाग पुल सेक्टर धरानका इन्जिनियर नवीन साहका अनुसार पुल निर्माणको काम ४३ प्रतिशत सम्पन्न भएको छ । सुरुवातमा वेल फाउन्डेसन प्रविधिबाट निर्माण थालिए पनि सम्भव नभएपछि गत वर्ष डिजाइन परिवर्तन गरी पाइल फाउन्डेसन प्रविधिबाट निर्माण सुरु गरिएको हो । स्ल्याब ढलानका लागि पानी सुकाउने काम भइरहेको र पानी चाँडै सुक्न सके यस वर्ष थप दुईवटा स्ल्याब ढलान सकिने जनाइएको छ ।
पुल निर्माणका लागि छवटा पिलर आवश्यक पर्नेमा हालसम्म चारवटा मात्र निर्माण भएका छन् । तीमध्ये एउटा पिलर गत वर्षको बाढीले बङ्ग्याएकाले पुनर्निर्माण गर्नुपर्ने भएपछि अझै तीनवटा पिलर निर्माण बाँकी रहेको छ ।
धाप्लाङघाटमा खोटाङ र उदयपुर दुवैतर्फ वर्षौँअघि कच्ची सडक निर्माण भई यातायात सञ्चालन हुँदै आएको छ । तर सुनकोसीमा पक्की पुल नहुँदा ठूला सवारीसाधन वारपार गर्न सकिँदैन । मोटरसाइकल भने झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरिएको स्थानीयवासीले बताएका छन् ।
पुल नहुँदा बाहिरबाट ल्याइने सामानको ढुवानी महँगो पर्नुका साथै स्थानीय उत्पादन निकासी गर्न कठिनाइ भएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष सालिकराम बञ्जराले बताए । उनका अनुसार पछिल्लो समय पुल निर्माणले गति लिएसँगै आशा जागेको भए पनि निरन्तर निगरानी आवश्यक छ ।
धाप्लाङघाटमा पुल निर्माण सम्पन्न भएपछि खोटाङका बराहपोखरी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही स्थानीयको जीवनशैलीमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ । पुल निर्माण सम्पन्न नभएसम्मका लागि अस्थायी बेलिब्रिज जडानको कामसमेत सुरु गरिएको छ ।































प्रतिक्रिया