काठमाडौँ । बैतडीमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाएका १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले दिएको जानकारी अनुुसार डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, सोही स्थानका अन्दाजी २७ वर्षका दीपक जोशी र अन्दाजी ४५ वर्षका किसनदत्त जोशी रहेका छन् ।
यसैगरी, बझाङको केदारस्यु गाउँपालिका ७ बस्ने अन्दाजी २६ वर्षीय केशवराज भट्ट र बैतडी पुर्चौडी नगरपालिका ७ का अन्दाजी १४ वर्षीय सुशील जोशीको पनि मृत्यु भएको हो ।
यसैगरी मृतकको सूचीमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशीको नाम छ ।
अन्य मृतकमा बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला छन् ।
पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा गएराति सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना भएको थियो । बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा राति नै ८ जनाको मृत्यु पुष्टि भएको थियो । थप ५ जनाको डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा घाइते भएकाहरूमध्ये २५ जनाको डडेलधुरामा र ४ जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइते ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।
बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल छन् ।





























प्रतिक्रिया