राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन पेश

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्ड नेतृत्वको टोलीले गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ।

भेटमा राष्ट्रपति पौडेलले नेपाल र बेलायतबीच लामो समयदेखि राम्रो सम्बन्ध रहँदै आएको उल्लेख गर्दै दुवै देश विकास, मानव कल्याण र शान्ति स्थापनाका विषयमा सहकार्य गर्दै आएको बताए। संयुक्त राष्ट्रसंघको शान्ति मिसनमार्फत विश्व शान्तिमा दुवै देशको समान धारणा रहेको पनि उनले बताए।

राष्ट्रपतिले बेलायत नेपालको महत्वपूर्ण विकास साझेदार भएको भन्दै नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। ब्रिटिस गोर्खाले गरेको कामले नेपाल–बेलायत सम्बन्ध अझ बलियो बनेको उल्लेख गर्दै बेलायतमा नेपालीको उपस्थितिले जनस्तरको सम्बन्ध मजबुत भएको उनको भनाइ थियो।

उनले पूर्व ब्रिटिश गोर्खाका केही समस्या समाधानका लागि कूटनीतिक तहमा छलफल भइरहेको जानकारी दिँदै यो विषय द्विपक्षीय संयन्त्रमार्फत टुंग्याउनुपर्ने बताए।

राष्ट्रपतिले सन् २०२५ को गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकोमा बेलायत सरकारलाई धन्यवाद दिँदै सम्बन्धित निकायले प्रतिवेदन अध्ययन गर्ने बताए ।

सो अवसरमा मेजर जेनरल स्ट्रिकलेण्डले ब्रिटिश गोर्खा सेना सधैँ अग्रपंक्तिमा रहने गरेको बताए । गोर्खामा भर्ना भएका युवालाई आफूले ‘नेपालका छोरा–छोरी’ भनेर सम्झाउने गरेको उल्लेख गर्दै बेलायती जनताले नेपाली गोर्खाप्रति माया र सम्मान गर्ने गरेको बताए ।

भेटमा नेपालका लागि बेलायती राजदूत रव फेनको पनि उपस्थिति थियो।

Logo