सर्लाही। पूर्वाधार विकास कार्यालय, मलंगवामा कार्यरत सव–इन्जिनियर प्रमोद कुमार यादवको हत्या प्रकरणप्रति कर्मचारी संगठनहरूले गम्भीर आपत्ति जनाउँदै सेवा प्रवाह बन्द (पेन डाउन) गर्ने घोषणा गरेका छन्।
कर्मचारी मिलन केन्द्र, सर्लाहीसहित जिल्लामा क्रियाशील विभिन्न ट्रेड युनियनहरूले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेका हुन्। विज्ञप्तिमा फागुन ३ गते आइतबार साँझ करिब ८ बजे मलंगवा नगरपालिका–१०, देवीटोलस्थित डेराबाट बाहिर बोलाएर अज्ञात समूहले यादवमाथि गोली प्रहार गरी हत्या गरेको घटनालाई अमानवीय र नृशंस कार्यको संज्ञा दिइएको छ।
विज्ञप्तिअनुसार घटनाको विरोध तथा दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन दबाब सिर्जना गर्ने उद्देश्यले फागुन ५ गते मंगलबार जिल्लाभरका सम्पूर्ण कार्यालयमा कार्यरत कर्मचारीहरूले एक दिन सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको छ ।
कर्मचारी संगठनहरूले घटनामा संलग्न व्यक्तिहरूको यथाशीघ्र पहिचान गरी पक्राउ गर्न, कानुनबमोजिम कडा कारबाही गर्न र मृतक राष्ट्रसेवक कर्मचारीलाई शहीद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
आसन्न निर्वाचनको सन्दर्भमा कर्मचारीहरू फिल्ड तथा कार्यालयमा खटिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै यस्तो घटनाले कर्मचारीहरूको मनोबल कमजोर बनाएको विज्ञप्तिमा उल्लेख छ। राज्यले कार्यक्षेत्र तथा व्यक्तिगत सुरक्षाको पूर्ण प्रत्याभूति गर्नुपर्ने मागसमेत गरिएको छ।





























प्रतिक्रिया