कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी सुरु

कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी सुरु

केन्द्रबिन्दु
3
Shares

गलकोट। बागलुङ कालिका मन्दिरमा हरेक वर्ष लाग्ने ऐतिहासिक चैतेदसैँ मेलाको तयारी सुरु भएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिका अनुसार यस वर्ष चैत्राष्टमी मेला आगामी चैत १० गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ ।

तीन सय वर्षभन्दा पुरानो परम्परासँग जोडिएको यस मेलामा हरेक वर्ष हजारौँ दर्शनार्थीको उपस्थिति रहने गर्दछ । मन्दिर परिसरमा स्थानीय तथा बाहिरी वस्तुको खरिद–बिक्रीका लागि स्टल राखिनेछ भने लोकदोहोरी, भलिबल प्रतियोगिता, सांस्कृतिक झाँकी, छेलो फाल्ने प्रतियोगिता र रथयात्रालगायत कार्यक्रम आयोजना गरिनेछन् ।

इतिहासअनुसार विसं १५९१ मा पर्वते राजा प्रतापी नारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गर्दा दाइजोका रूपमा ल्याइएको देवीको मूर्ति हालको कालिका मन्दिर रहेको स्थानमा स्थापना गरिएको जनविश्वास छ । त्यसपछि उक्त स्थानमा मेला लाग्ने परम्परा सुरु भएको बताइन्छ ।

मन्दिरमा पूजाअर्चना गर्दा मनोकामना पूरा हुने विश्वासका आधारमा चैतेदसैँमा ठूलो संख्यामा भक्तजन आउने गर्छन् । मेलामा धार्मिक गतिविधिसँगै उल्लेख्य आर्थिक कारोबारसमेत हुने गर्दछ ।

यस वर्ष कालिका कप खुला पुरुष भलिबल प्रतियोगिता (रु तीन लाख पुरस्कार राशि), खुला महिला भलिबल (रु एक लाख), राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता (रु दुई लाख) लगायत कार्यक्रम समावेश गरिएको छ ।

मेला मार्फत बागलुङको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रवद्र्धन र स्थानीय उत्पादनको संरक्षण गर्ने लक्ष्य राखिएको लोक गायक कृष्ण अखेलीले जानकारी दिएका छन् ।

Logo