काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने भए संविधान संशोधन गर्नुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले देशको नाममा विशेषण जोडनुपर्ने भए संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । मुलुकको शासन प्रणालीलाई देशको नाममा जोडने हो भने संविधान संशोधन गर्न छलफल गर्न सकिने उनको भनाइ छ । तर अहिलेको संविधानमा नेपालको नाम नेपाल भनिएकाले प्रशासनिक हिसाबले पत्राचार गर्ने काममा नेपाल भनेर लेख्ने निर्णय सरकारले गरेको पनि मन्त्री ज्ञवालीले स्पष्ट पारेका छन् ।
त्यस्तै उनले मुलुकले स्थापित गरेको शासन प्रणालीलाई बदल्ने अथवा कायम राख्ने भने कुरासँग बहस गर्न जरुरी नरहेको पनि बताए । संविधान निर्माण गर्दा नै देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल राख्ने भन्ने सोच भएको भए संविधानमा नै उल्लेख भइसकेको हुने उनको भनाइ छ । त्यसैले संविधानमा नै व्यवस्था नभएको विषयमा नेपालको नामको पछाडि विशेषण जोड्नु पर्ने आवश्यकता नरहेको उनले बताए ।
त्यस्तैगरी प्रशासनिक हिसाबले गर्न खोजिएको विषयलाई राजनीतिक प्रणालीसँग नजोड्न पनि मन्त्री ज्ञवालीले आग्रह गरेका छन् । संविधानको धारा ५६ मा नेपालको राज्यसंरचना कस्तो हुन्छ भन्ने स्पष्टसँग लेखिएकाले सरकारको यो निर्णयले त्यसलाई परिवर्तन गर्न खोजिएको नहुने पनि मन्त्री ज्ञवालीले स्पष्ट पारे ।
पूरा भिडियाे:





























प्रतिक्रिया