काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनलाई लक्षित गर्दै वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहले सोमबार आफ्नो प्यानल घोषणा गरेको छ ।
सो समूहले महासंघको नयाँ विधानअनुसार उपाध्यक्षसहित १७ सदस्यीय उम्मेदवारी घोषणा गरेको हो । उपाध्यक्षका उम्मेदवार श्रेष्ठको समूहबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र महिलातर्फ उपाध्यक्षमा कमला श्रेष्ठलाई प्रस्ताव गरिएको छ ।
त्यसैगरी विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै वस्तुगततर्फ सदस्यहरूमा कमला श्रेष्ठ, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदूर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारी रहेका छन् । महासंघतर्फ प्रतिनिधित्व गर्दै सदस्यहरूमा सुनैना घिमिरे पाण्डे र सुधिर पराजुली रहेका छन् ।
उम्मेदवार श्रेष्ठले कृषि, पर्यटन, निर्यात व्यापार, पुँजी बजार, खाद्यान्न, आईटी, घरजग्गा व्यवसाय, जलविद्युतलगायत सबै क्षेत्रलाई समेटेर समावेशी टिम निर्माण गरिएको बताए । उनले बलियो र जुझारु टोलीसहित निर्वाचनमा विजय सुनिश्चित रहेको दाबी गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सर्वसम्मत नेतृत्व चयन भए निजी क्षेत्रका एजेन्डा कार्यान्वयनमा सहज हुने बताएका छन् । उनले आफ्नो कार्यकालमा सुरु गरिएका प्रमुख पाँच एजेन्डामध्ये अधिकांश पूरा भइसकेको दाबी गरे ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रका एजेन्डालाई सरकारको प्राथमिकतामा राख्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले गुटबन्दीभन्दा एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।
नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रबीचको एकता र सहकार्यले मात्र मुलुकको आर्थिक विकास सम्भव हुने बताएका छन् । उनले निर्वाचन स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै हार–जितपछि सबैले मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
श्रेष्ठ समूहले नीतिगत सुधार, लगानीमैत्री वातावरण, संस्थागत सुशासन, रोजगारी प्रवर्द्धन तथा स्वदेशी उद्योगको संरक्षण गर्दै विदेशी लगानी आकर्षित गर्ने लक्ष्यसहित आफ्नो कार्ययोजना अघि सारेको छ ।































प्रतिक्रिया