काठमाडौं । पश्चिम एसियामा जारी भूराजनीतिक तनाव र होर्मुज जलडमरूमध्यमा देखिएको आपूर्ति अवरोधले कच्चा तेलको मूल्य डेढ दशककै उच्च विन्दुमा पुगेको छ । यससँगै ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १०७ डलर नाघेको छ । रिपोर्टका अनुसार, ब्रेन्ट क्रुड फ्युचर्स २.२२ डलर (२.११ प्रतिशत) ले बढेर प्रति ब्यारेल १०७.५५ डलर पुगेको छ ।
इरान र ओमानबीच अवस्थित होर्मुज जलडमरूमध्यबाट विश्वको कूल पेट्रोलियमको करिब २० देखि २५ प्रतिशत ढुवानी हुन्छ । अहिले यो जलमार्ग पूर्ण रूपमा अवरुद्ध छ । अमेरिकाले इरानसँग सम्बन्धित सबै जहाजमाथि नौसैनिक नाकाबन्दी लगाएको छ, र सेन्टकमले २७ वटा जहाजलाई फिर्ता पठाइसकेको पुष्टि गरेको छ । त्यस माथी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि कुनै जहाज होर्मुजको बाटो भएर जान्छ भने तुरुन्तै उडाइदिनु भनेर चेतावनीसम्म दिएका छन् ।
त्यति मात्र होइन राष्ट्रपति ट्रम्पले इरानलाई “इरानमा रहेका तेलका पाइपलाइनहरू तीन दिनभित्र फुटाई दिने पनि अल्टिमेटम दिएका छन् । यसैबीच, अमेरिकाले इरानको तेल व्यापार सञ्जालमाथि प्रतिबन्धको दायरा पनि कडा बनाएको छ ।
चीनको एक प्रमुख स्वतन्त्र रिफाइनरी र करिब ४० अन्य जहाज तथा कम्पनीमाथि प्रतिबन्ध लगाइएको छ । इरानको कूल तेल निर्यातको ८० प्रतिशतभन्दा बढी हिस्सा चीन एक्लोले खरिद गर्ने गरेको तथ्यले यो कदमको गाम्भीर्य झल्काएको छ ।




















