काठमाडौं । अमेरिकाले समुद्रमा रोकिएको रुसी तेल खरिदमाथि लगाइएको प्रतिबन्ध ३० दिनको हटाएको छ । अमेरिकी वित्त विभागले सोमबार रुसी तेल खरिदमा अस्थायी रूपमा ३० दिन हटाउने निर्णय गरेको हो ।
अमेरिकी अर्थ मन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मार्फत यसबारे जानकारी दिएका हुन् । उनले रुसी तेल खरिदमा दिइएको यो म्याद थपले बजारलाई ‘अतिरिक्त लचकता’ प्रदान गर्ने बताएका छन् । पश्चिम एसियामा जारी द्वन्द्वका कारण ऊर्जा संकटसँग जुधिरहेका देशहरूका लागि यस निर्णयलाई ठूलो राहतका रूपमा हेरिएको छ ।
अमेरिकी वित्त विभागले आवश्यकताअनुसार विभिन्न देशहरूलाई विशेष लाइसेन्स उपलब्ध गराउन काम गर्ने पनि जनाएको छ । यस सामान्य लाइसेन्सको उद्देश्य कच्चा तेलको बजारलाई स्थिर बनाउनु तथा ऊर्जा संककटबाट सबैभन्दा बढी प्रभावित देशहरूसम्म तेल आपूर्ति सुनिश्चित गर्नु रहेको बताइएको छ ।
यो घोषणा यसअघि जारी गरिएको ३० दिने छुटको अवधि समाप्त भएपछि आएको हो । समुद्रमा रोकिएको रुसी तेलका लागि यसअघि दिइएको छुट मे १६ मा समाप्त भएको थियो । पश्चिम एसियामा द्वन्द्व सुरु भएयता यो तेस्रोपटक उक्त छुटको म्याद थप गरिएको हो । रोयटर्स


















