काठमाडौं । अभिनेता राजेश हमालले नेपाल–भारत सीमा विवादका विषयमा सीमापार अतिक्रमण र राज्य–प्रायोजित भू–अतिक्रमणलाई एउटै रूपमा बुझ्न नहुने बताएका छन्।
हमालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खुला सीमाका कारण स्थानीय तहमा देखिने सीमासम्बन्धी समस्याहरूलाई राज्यको योजनाबद्ध भू–अतिक्रमणसँग जोडेर हेर्न नमिल्ने बताएका हुन्। उनका अनुसार नेपाल–भारत खुला सीमाका कारण दुवै देशका नागरिकबीच शताब्दीयौंदेखि व्यापार, खेतीपाती र सामाजिक सम्बन्ध रहँदै आएको छ।
नदीले धार परिवर्तन गर्ने, सीमा स्तम्भ हराउने वा क्षतिग्रस्त हुने तथा बस्ती विस्तारजस्ता घटनाहरू प्रायः स्थानीय र प्रशासनिक प्रकृतिका समस्या हुन्, जसको समाधान संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट सम्भव हुने उनले उल्लेख गरेका छन्।
तर राज्य–प्रायोजित भू–अतिक्रमण भने पूर्णतः फरक प्रकृतिको विषय भएको हमालको भनाइ छ। उनका अनुसार कुनै राष्ट्र स्वयं विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न सक्रिय हुँदा त्यहाँ सडक निर्माण, प्रशासनिक संरचना स्थापना, सुरक्षा निकाय परिचालन तथा सरकारी नक्सामार्फत अधिकारको औपचारिक प्रयोग गरिन्छ। उनले कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रलाई यसको प्रमुख उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
हमालले वर्तमान विश्व राजनीतिक परिवेशप्रति पनि चिन्ता व्यक्त गरेका छन्। आजको ढामाडोल र अनिश्चित अन्तर्राष्ट्रिय परिस्थितिमा कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने उनको भनाइ छ।





























प्रतिक्रिया