काठमाडौं । वैदेशिक अध्ययनका लागि इच्छुक सयौँ विद्यार्थीलाई एकै थलोमा विज्ञसँग जोड्ने उद्देश्यले इन्लाइटन इन्टरनेसनल एजुकेशनले आयोजना गरेको ‘स्टडी एब्रोड बुटक्याम्प २.०–सिजन ५’ सफलतापूर्वक सम्पन्न भएको छ । बागबजारस्थित संस्थाको कार्यालयमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालित कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।
बुटक्याम्पमा सहभागीहरूलाई अध्ययन गन्तव्य चयन, विश्वविद्यालय आवेदन प्रक्रिया, भिसा नीति, छात्रवृत्तिका अवसर तथा भाषा परीक्षाको तयारीजस्ता वैदेशिक अध्ययनका महत्वपूर्ण पक्षमा प्रत्यक्ष परामर्श प्रदान गरिएको थियो। विद्यार्थीहरूले विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि, अनुभवी परामर्शदाता र विदेशमा अध्ययनरत व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने विशेष अवसर प्राप्त गरेका थिए ।

कार्यक्रममा इन्लाइटनका कार्यकारी अध्यक्ष दीपक राज भुसाल, कार्यकारी निर्देशक सीता भट्टराई, भाषा तथा भर्बल रिजनिङ प्रशिक्षक सुनिल सेनगुप्ता, ब्रिटिस काउन्सिल आईईएलटीएसकी अकाउन्ट म्यानेजर रसिका कार्की, पियर्सन पीटीईका क्षेत्रीय विकास प्रबन्धक सुमन कृष्ण श्रेष्ठ तथा टोफेल (ईटीएस) की वरिष्ठ बिक्री परामर्शदाता सुजाता बिष्टले भाषा परीक्षण र अध्ययन योजनाबारे जानकारी दिएका थिए ।
त्यसैगरी, अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूको तर्फबाट अमेरिकास्थित विलियम प्याटरसन विश्वविद्यालयका प्रतिनिधि प्रतीक अर्याल, कोलोराडो मेसा विश्वविद्यालयकी महिमा थापा, अष्ट्रेलियास्थित चर्चिल इन्स्टिच्युट तथा आईआईईका क्षेत्रीय बजार व्यवस्थापन एवं जनसम्पर्क निर्देशक विजय शर्मा, केन्ट इन्स्टिच्युट अष्ट्रेलियाकी क्षेत्रीय बजार व्यवस्थापक गीता राजबहाक र क्विन्सफोर्ड कलेजकी बजार व्यवस्थापक आकांक्षा मल्ललगायतले विद्यार्थीलाई अध्ययन अवसर र चुनौतीसहितको परामर्श दिएका थिए ।
आयोजकका अनुसार विद्यार्थीहरूले यस कार्यक्रममार्फत मनपर्ने गन्तव्यका प्रतिनिधिसँग प्रत्यक्ष छलफल, छात्रवृत्ति सम्भावना पहिचान तथा भाषा परीक्षाको मार्गदर्शन लिने सौभाग्य पाए। उनीहरूले आफ्नो अध्ययन योजना, आवेदन प्रक्रिया र भावी करियर लक्ष्यबारे एकीकृत परामर्श प्राप्त गरेको जनाइएको छ । इन्लाइटनले यस बुटक्याम्पले विदेश अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई स्पष्ट खाका बनाउन तथा शैक्षिक लक्ष्य तय गर्न सहयोग पुगेको विश्वास व्यक्त गरेको छ ।

संस्थाले वैदेशिक अध्ययनसम्बन्धी आवश्यक सम्पूर्ण जानकारी एकै स्थानबाट उपलब्ध गराउने लक्ष्यसहित यस्ता परामर्श तथा सहजीकरण कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।





























प्रतिक्रिया