विश्वकप फुटबलको उद्घाटन खेलमा सहआयोजक मेक्सिकोको जित

विश्वकप फुटबलको उद्घाटन खेलमा सहआयोजक मेक्सिकोको जित

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । घरेलु टोली मेक्सिकोले विश्वकप २०२६ को उद्घाटन खेलमा बिहीबार दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले पराजित गरेको छ । सन् १९८६ मा पछिल्लो पटक विश्वकप आयोजक बन्दा क्वार्टरफाइनल पुगेको मेक्सिको पहिलो खेलमा विजय हात पारेपछि त्यही गन्त्वयतर्फ लम्केको छ ।

एजटेका रंगशालामा ८० हजार भन्दा बढी दर्शक सामु मेक्सिकोका जुलियन क्विनोनेज विश्वकप २०२६ मा गोल गर्ने पहिलो खेलाडी बनेका थिए । मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान १–१ गोल गरे । खेल सुरुआतको नवौँ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाए । इरिक लिराले दिएको पासलाई सदुपयोग गर्दै जुलियनले गोल गरेका हुन् । खेलको ४९औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सीमित बन्यो ।

त्यसपछि खेलको ६७औँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले रातो कार्ड पाए । त्यसपछि दक्षिण अफ्रिका नौ खेलाडीमा सीमित बन्यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए ।

विश्वकपको उद्घाटन खेलमा तीन खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । यस जितसँगै समूह ‘ए’मा रहेको मेक्सिकोले शीर्ष तीन अङ्क बटुलेको छ । आजै हुने समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल आज बिहान ७:४५ बजे हुनेछ ।

Logo