अभिनेता कार्कीको‘लाइट वेन्डर्स प्रालि’ले भित्र्याए सिनेमा निर्माणका अत्याधुनिक प्रविधि

अभिनेता कार्कीको‘लाइट वेन्डर्स प्रालि’ले भित्र्याए सिनेमा निर्माणका अत्याधुनिक प्रविधि

केन्द्रबिन्दु
0
Shares

काठमााडौं । अभिनेता विपीन कार्कीले केही साथीहरूसँग सहकार्य गर्दै उनले सिनेमा प्रोडक्सन कम्पनी ‘लाइट वेन्डर्स प्रालि’ सञ्चालनमा ल्याएका हुन् ।

यो कम्पनीले चलचित्र निर्माणका निम्ति आवश्यक पर्ने अत्याधुनिक लाइट र क्यामेरा उपलब्ध गराउनेछ । हलिउड र बलिउडका ठूला सिनेमा निर्माण गर्ने कम्पनीले प्रयोगमा ल्याउने लाइट र क्यामेरा यसले नेपाल भित्र्याएको छ ।

लाइट वेन्डर्स प्रालिमा करिब पाँच करोड रुपैयाँ लगानी रहेको अभिनेता विपीन बताउँछन् । “चार करोड लगानी भइसकेको छ,” विपीन बाह्रखरीसँग भन्छन्, “अब अझै एक करोड रुपैयाँमाथि लगानी हुनेछ ।” सामान ल्याउनेक्रम जारी रहेकाले अझै कम्तीमा एक करोड रुपैयाँभन्दा बढी लगानी थपिने उनले जानकारी दिए ।

स्काई प्यानल र अर्बिटरजस्ता नयाँ मोडल यो कम्पनीले भित्र्याएको छ । एफएक्स स्काई प्यानल अहिले पनि बलिउड भित्रिएको छैन भन्दा पनि हुने विपीन बताउँछन् । बलिउडको ‘लाइट एन्ड लाइट’ कम्पनीको प्रतिनिधि समेत एफएक्स स्काई प्यानल देखेर छक्क परेको विपीन सुनाउँछन् । ‘लाइट एन्ड लाइट’ बलिउडकै सबैभन्दा राम्रो कम्पनी हो ।

“लाइट एन्ड लाइटको मान्छे हाम्रो अफिसमा आएर हेर्दा छक्क पर्दै कुन आँटले यस्तो सामान ल्याएको ? किन बौलाएको ? भन्नुभयो,” विपीन भन्छन्, “नेपालमा यस्तो मार्केट छ र ? भनेर सोध्नुभयो ।”

विपीन मार्केटभन्दा पनि क्वालिटी फिल्म मेकिङका लागि हिम्मत गरेर ठूलो लगानी गरेको बताउँछन् । “व्यापार मात्रै गर्ने उद्देश्य रहेको भए हामी यति ठूलो जोखिम लिने थिएनौँ । जहाँ तुनात्मक रूपमा रिस्क कम थियो, त्यहाँ नै लगानी गर्ने थियौँ,” उनी भन्छन् । नेपाली चलचित्र उद्योगको मेकिङको स्तर उकास्न आफूहरूले रिस्क उठाएको उनको भनाइ छ ।

लाइट वेन्डर्सले तीन ग्रीप ट्रक भित्र्याएको छ, त्यो बलिउडमा पनि अहिलेसम्म पूर्ण रूपमा आएको छैन । ग्रीप ट्रक हलिउडले भने प्रयोग गर्दै आएको छ ।

“यो ट्रकभित्र आफूसँग भएअनुसारको सामान राख्न र्‍याक बनाइन्छ । सामान कसरी राख्ने भन्ने यसमा हुन्छ । यो हलिउडले मात्रै प्रयोगमा ल्याइरहेको छ,” विपीन भन्छन्, “बलिउडमा त अहिले पनि बक्सभित्र सामान राखेर गाडीमा राख्ने गरेको हामीले हेरेर आयौँ ।”

विपीनका अनुसार, लाइट वेन्डर्सले सुरुमा तीन ग्रीप ट्रकबाट सेवा दिनेछ । “एउटा सात टनको ग्रीप ट्रक हुनेछ, जसले जतिसुकै ठूलो फिल्म पनि खिच्न सक्नेछ । अर्को तीन टनको हुनेछ । यो पनि फिल्म मेकरले प्रयोग गर्न सक्नेछन्,” उनले भने । जसको जति बजेट हुनेछ, त्यहीअनुसारको ग्रीप ट्रक मेकरले प्रयोग गर्न सक्ने उनको भनाइ छ ।

“लाइट वेन्डर्समा महँगो सामान छ, त्यसैले अन्तभन्दा हाम्रोमा महँगो पर्नेछ । तर, क्वालिटीमा सम्झौता नगर्नेले हाम्रो सामान प्रयोग गर्न हिचकिचाउने छैनन्,” विपीन भन्छन्, “एरी भनेको त सिनेमामा सबैभन्दा राम्रो लाइटिङ हो ।

अझै पनि नयाँनयाँ प्रविधि ल्याउने क्रममा रहेको उनले बताए । अहिले बलिउडमा डलीको लेटेस्ट प्रविधिमा ताइवानको एचएस चलिरहेको उनले उल्लेख गरे । यही एचएस लाइट वेन्डर्सले भित्र्याएको छ । स्ट्यान्डका लागि चाइनिज कम्पनी कुपोसँग सहकार्य गरेको छ ।

विपीन चलचित्र विकास बोर्डप्रति पनि अनुगृहीत सुनिए । चलचित्र उद्योगमा कुनै नयाँ प्रविधि पहिलोपटक भित्र्याउँदा भन्सार छुट दिने कानुनी सुविधा छ । यो सुविधा लाइट वेन्डर्सले लियो ।

“कानुनमै सुरक्षित भएको सुविधा हो, यो लिनु सामान्य हो,” उनी भन्छन्, “तर, यो सुविधा प्राप्त हुँदा पनि राज्यले रिकनाइज गरेको महसुस हुने रहेछ ।” कागजी प्रक्रिया पूरा गरिए राज्यबाट सुविधा पनि लिन सकिने आफूले अनुभव गरेको उनले सुनाए ।

लाइट वेन्डर्सले अत्याधुनिक प्रविधिका लाइट र क्यामेरा भित्र्याएसँगै अब बलिउड र हलिउडका ठूला स्टुडियोका ठूलठूला सिनेमा सहजै खिच्न सकिने उनको भनाइ छ ।

“अब बलिउड र हलिउडका जतिसुकै ठूला चलचित्र पनि लाइट वेन्डर्सका अत्याधुनिक प्रविधिमा खिच्न सकिन्छ,” विपीन भन्छन्, “अब विदेशी सिनेमा नेपालमा छायांकन गर्दा उताबाट लाइट र क्यामेरा लिएर आउनुपर्ने छैन ।”

Logo