झापा । झापाको मेचीनगर–४ बाहुनडाँगीका रामबहादुर प्रधान (८४) ले जीवनभरको मिहिनेत, संघर्ष र त्यागबाट आर्जित साढे ४ करोड मूल्य बराबरको २ बिघा ५ कट्ठा जमिन मानव सेवा आश्रमलाई दान दिएका छन्। सम्पत्ति हस्तान्तरणपछि उनी आश्रमकै संरक्षणमा जीवन बिताइरहेका छन्।
जग्गादानको सोच आएपछि उनले धेरैतिर बुझे। र, वृद्धाश्रम या बाल आश्रमलाई जग्गा दान दिने निधोमा पुगे। बुझ्दै जाँदा मानव सेवा आश्रमसँग जोडिए। ‘मलाई राम्रो संस्थालाई जग्गा दान दिने विचार थियो,’ उनी भन्छन्, ‘मानव सेवा आश्रम ठीक लाग्यो।’ मानव सेवा आश्रमका प्रतिनिधि रामजी अधिकारीसँग पटक–पटक छलफल भयो।
अन्ततः पाँच वर्षअघि सहमति जुट्यो। प्रधानले झापा, मेचीनगरको बाहुनडाँगीस्थित आफ्नो नामको २ बिघा ५ कट्ठा जग्गा आश्रमलाई दान दिने निधो गरे। ‘मैले आश्रमसँग भनें– यो जग्गा, यी दुई आमा र एउटा गाई तपाईंहरूको जिम्मा,’ प्रधानले सम्झिए, ‘तर, म तपाईंहरूको कुनै सेवा लिन्नँ। आजदेखि म स्वतन्त्र भएँ।’
त्यसपछि प्रधान भद्रपुरस्थित मालपोत कार्यालय पुगे र जग्गा मानव सेवा आश्रमका नाममा नामसारी गरिदिए। हाल मानव सेवा आश्रममा वृद्ध, असहाय, सडक मानव, बालबालिकासहित १ सय ४ जना आश्रित छन्। प्रधान पनि दुई श्रीमती लक्ष्मी र पूर्णमायाको साथमा आश्रमकै घरमा बस्छन्। ‘खाने, लगाउने, औषधि उपचारलगायतका सबै आधारभूत आवश्यकताको प्रबन्ध आश्रमले मिलाइदिएको छ,’ प्रधान भन्छन्।
दोलखाको जिलु गाउँमा जन्मिए– रामबहादुर। १४–१५ वर्षको उमेरमै रोजगारीको खोजीमा घर छाडे। त्यसबेला धेरै युवाझैं उनी पनि ‘मुग्लान’ हानिए। वीरगन्ज–रक्सौलबाट रेल चढेर सिलिगुडी ओर्लिए। अनि जिप चढेर सिक्किम उक्लिए। अहिलेको भारतीय राज्य सिक्किम ऊ बेला स्वतन्त्र देश थियो।
भारी बोक्ने, बाटो खन्ने काम पाए। गाउँमै मजदुरी गर्दा दिनभर फरुवा चलाएबापत पुरुषले २५ पैसा, महिलाले २० पैसा र बालबालिकाले १२ पैसा ज्याला पाउने समय थियो त्यो। सिक्किममा भारी बोक्दा श्रमको कदर भएको ठाने। तर, सधैं चिसो हुने त्यो हिमाली देशमा धेरै समय टिक्न सकेनन्। अनि झरे सिलिगुडीतिरै।
सिलिगुडीमा एक जना नेपाली साथीसँग प्रधानको भेट भयो। ती साथीले ‘हाम्रो नेपाल ऊ त्यहीं पर्तिर छ। जाने हो हेर्न? भने’ साथीको कुरा सुनेर प्रधान छक्क परे। उनले सुरुमा नपत्याए पनि जान तयार भए। सिलिगुडीबाट मतिगडा–बागडोगरा हुँदै नक्सलबारी आइपुगे। नक्सलबारी बजारबाट उत्तरपश्चिम हुँदै उनीहरू मेची तरेर बाहुनडाँगी पुगे। ‘यति नजिकै नेपाल देखेर म त छक्कै परें’, रोमाञ्चित हुँदै प्रधानले बेलिविस्तार लगाए, ‘नेपाल टेकेपछि त मलाई फर्किनै मन लागेन।’
यो हो वि.सं. २०२० सालतिरको कुरा। त्यतिबेला पूर्व–पश्चिम राजमार्ग भर्खरै खनिँदै थियो। मेची खोलामा भर्खरै पुल बनेको थियो। बाहुनडाँगीका तोयाराज भारतीसँग उनको चिनापर्ची भयो। सिक्किममा भारी बोकेर जोहो गरेको केही हजार भारु र दोलखाको जग्गा बेचेर ल्याएको केही हजार मिलाएर उनले बाहुनडाँगीमा जग्गा किन्ने निधो गरे। ‘ऊ बेला बिघाको चार हजार रुपैयाँमा जग्गा किनेको थिएँ,’ उनी सम्झन्छन्।
अहिले जीवनको उत्तरार्धमा आफ्नो जायजेथा आश्रमलाई दिने निर्णय गरेको उनले बताए। करोडौं मूल्यको जग्गा दान गर्दा आफूलाई गर्व लागेको उनी सुनाउँछन्। ‘हामी नभए पनि हाम्रो जमिनमा सयौं असहाय, गरिब, वृद्ध र बालबालिका रमाइरहनेछन्’, प्रधान थप्छन् ‘योभन्दा ठूलो सन्तोष हाम्रा लागि के हुन सक्ला र?’





























प्रतिक्रिया