नेपालमा भारतीय पर्यटकको आकर्षण, पर्यटक बोकेर ६ वटा नाकाबाट भित्रिन्छन् दिनको २५ सय सवारी

नेपालमा भारतीय पर्यटकको आकर्षण, पर्यटक बोकेर ६ वटा नाकाबाट भित्रिन्छन् दिनको २५ सय सवारी

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपालको प्राकृतिक, सांस्कृतिक, धार्मिक र साहसिक पर्यटकीय गन्तव्यमा स्वदेशीसँगै विदेशी पर्यटक आउने क्रम ह्वात्तै बढेको छ। केही महिनायता छिमेकी मुलुक भारतबाट आउने पाहुनाका कारण पूर्वदेखि पश्चिमसम्मका प्रमुख गन्तव्यमा चहलपहल भइरहेको छ।

नेपालको पर्यटन क्षेत्रमा ‘अफ सिजन’ मानिने महिनामै पनि भारतीयका कारण गन्तव्य गुलजार बनेपछि व्यवसायी मक्ख छन्। पर्यटन पूर्वाधारमा लगानी गरेर प्रतिफल प्राप्त नगरेका व्यवसायीसमेत उत्साही देखिन थालेका छन् । मुलुकका प्रमुख नाकाबाट दैनिक २ हजारभन्दा बढी भारतीय गाडी पर्यटक र तीर्थयात्री बोकेर भित्रिने गरेको पाइएको छ।

यस्ता सवारीका साधनमा चारपांग्रे धेरै हुन्छन्। मोटरसाइकल र बस पनि छन्। प्रायः मोटरसाइकलमा दुई जना सवार हुन्छन्। एउटा गाडीमा कम्तीमा ४ जना यात्रा गर्छन्। धेरैजसो तीर्थयात्री बसमा आउँछन। सीमा नाकादेखि मुलुकमा प्रमुख गन्तव्य पुग्ने राजमार्गमा यतिबेला भारतीय नम्बर प्लेटका गाडी धेरै भेटिन्छन्।

पूर्वदेखि पश्चिमसम्म रहेका प्रमुख स्थलनाका भएर दिनहुँ भारतीय तीर्थयात्री र पर्यटक ओइरिइरहेका छन्। अहिले तीर्थयात्रीसँगै आफ्ना निजी र भाडाका गाडीमा सपरिवार नेपाल घुम्न आउने पनि धेरै छन्। दक्षिणका सीमावर्ती प्रमुख नाकाबाट भित्रिने भारतीय पाहुना मुस्ताङमा रहेको मुक्तिनाथसँगै पोखरा, काठमाडौं, चितवन, लुम्बिनी, बर्दियालगायत धार्मिक तथा पर्यटकीय गन्तव्य पुगिरहेका छन्।

केही वर्षअघिसम्म पशुपतिनाथ, मुक्तिनाथलगायत धार्मिकस्थल भ्रमणको प्रयोजनका लागि आउने संख्या बढी हुने गरेको थियो। पछिल्लो समय परिवार र साथीसँगै घुमफिर र मनोरन्जनका लागि आउने पनि धेरै छन्। गर्मी छल्न पहाड र हिमाली क्षेत्रमा पुग्ने मात्र छैनन्। सीमावर्ती सहरमा रहेका क्यासिनो र स्पामा रमाउन आउने धेरै छन्।

लुम्बिनी, बर्दिया, चितवनमा पनि भारतीय पर्यटक उल्लेखनीय छन्। धेरैजसो पहाडी दृश्यावलोकन र चिसो मौसमको आनन्द लिन पाल्पा, बागलुङ, मुस्ताङ, मनाङ र पोखरासम्म पुग्ने गरेका छन्।

पर्यटक बोकेर बेलहिया नाकाबाट दैनिक सरदर ६ सय भारतीय गाडी भित्रिरहेको रूपन्देहीको भैरहवास्थित भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले बताए । भारतमा विद्यालय बिदा भएका बेला दिनमै १ हजार २ सयसम्म पर्यटक बोकेका गाडी भित्रिने गरेको उनले बताए। यसरी भित्रिने सवारीका साधनमा मोटरसाइकल, कार र बस छन्।

भैरहवा नाकाबाट गाडीसहित नेपाल घुम्न आउने भारतीय पर्यटकको संख्या बढ्न थालेपछि उनीहरूको सहजीकरणका लागि भन्सारमा अनलाइन सिस्टम लागू गरिएको भन्सार प्रमुख पौडेलको भनाइ छ। ‘विशेषगरी छुट्टी मनाउन धेरै भारतीय नेपालमा आउने गरेका छन्,’ पौडेलले भने, ‘भैरहवा नाका भएर आउने प्रायः भारतीयको गन्तव्य मुस्ताङको मुक्तिनाथ, कोरला, पोखरा तथा चितवन हो।’

भारतीय साना गाडी नेपाल ल्याउँदा दैनिक प्रतिगाडी ६ सय रुपैयाँ र मोटरसाइकलको २ सय रुपैयाँ महसुल लाग्ने गर्छ। जरिवाना तिर्नुपरे गाडीको प्रतिदिन २ हजार ५ सय र मोटरसाइकलको १ हजार २ रुपैयाँ पर्छ। पहिला भारतीय सवारीसाधनसहित फर्किंदा भन्सारमा सामान्य जाँच गरे हुनेमा अहिले सबै कागजातसहित अनलाइनमा दर्ता हुनुपर्ने प्रावधान छ।

रूपन्देहीको छिमेकी कपिलवस्तुका मुख्य दुई नाका मर्यादपुर र कृष्णनगर नाकाबाट दिनको ५ सय भारतीय गाडी भित्रिने गरेका छन्। मोटरसाइकल र चारपांग्रे जिप, कार र भ्यान तीर्थयात्री र पर्यटक बोकेर भित्रिने गरेका हुन्। मर्यादपुरबाट दैनिक २ सय ५० भन्दा बढी भारतीय नम्बर प्लेटका सवारीसाधनले भन्सार चुक्ता गरेर भित्रिरहेका छन्। त्यसमध्ये ६० प्रतिशत चारपांग्रे र ४० प्रतिशत मोटरसाइकल हुने गरेको सुठौली भन्सार कार्यालयका प्रमुख किरण बिष्टको भनाइ छ।

जिल्लाको मुख्य कृष्णनगर नाकाबाट दैनिक २ सय ८० भन्दा बढी गाडी भित्रिने गरेका छन्। यिनमा आधा मोटरसाइकल र आधा कार/भ्यान हुने गरेका छन्। जिल्लाका नाका हुँदै भित्रिने ६० प्रतिशत भारतीय अर्घाखाँचीको सुपादेउराली र प्यूठानको स्वर्गद्वारी पुग्ने गरेको कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी मयंक कर्णले बताए।

नेपालको मध्यक्षेत्रबाट मात्र होइन, पश्चिमी नाकाबाट भित्रिने भारतीय पर्यटक र तीर्थयात्रीको संख्या पनि बढ्दो छ। सुदूरपश्चिमको कञ्चनपुरस्थित गड्डाचौकी नाकाबाट भित्रिने पर्यटकमा प्रायः भारतीय छन्। त्यहाँबाट भारतको उत्तराखण्डका पर्यटकीय क्षेत्रनजिक भएकाले तेस्रो मुलुकबाट पनि फाट्टफुट्ट यहाँको नाकाबाट भित्रिने गरेका छन्।

अहिले स्थानीय बजारमा क्यासिनो खेल्नेदेखि घुमफिर गर्नेमा प्रायः भारतीय रहेको पर्यटन व्यवसायी बताउँछन्। विगतको तुलनामा अहिले भारतीय पर्यटक भित्रिने क्रम पनि बढेको उनीहरूको भनाइ छ। ‘क्यासिनो खेल्न आउनेहरू कहिलेकाहीं शुक्लाफाँटामा जंगल सफारीका लागि पनि आउने गरेका छन्,’ पर्यटन व्यवसायी परमानन्द भण्डारीले भने, ‘विगतको तुलनामा पर्यटक आउने क्रम बढेको छ।’

भण्डारीले एक दशकदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराउँदै आएका छन्। यहाँ आउने प्रायः पर्यटक भारतको उत्तराखण्डकै छन्। यसबाहेक दिल्ली र बरेलीलगायत क्षेत्रबाट पनि आउने गरेका छन्। कैलाश मानसरोवर यात्राका लागि आउने कतिपय पनि यही नाकाबाट भित्रिने गरेका छन्।

यहाँको नाकाबाट भित्रिने पर्यटक काठमाडौं, पोखरा, लुम्बिनीसम्म पुग्ने गरेका छन्। सीमावर्ती बजार ब्रह्मदेवमा पूर्णागिरी मेलाका कारण भारतीय दर्शनार्थीको भीड लाग्ने गरेको छ। फागुपूर्णिमादेखि सुरु हुने उक्त मेलामा भारतको उत्तराखण्ड, उत्तरप्रदेश र दिल्लीलगायत राज्यबाट दर्शनार्थी आउने गरेका छन्।

महेन्द्रनगरमा सञ्चालित तीनवटा क्यासिनोमा आउनेहरूका कारण पनि कञ्चनपुरमा भारतीयको चहलपहल बढेको हुन्छ। यहाँ क्यासिनो खेल्न उत्तराखण्डदेखि दिल्लीसम्मका भारतीय आउँछन्। भन्सार तथा सुविधा लिएर आउने सवारीको संख्या पनि धेरै रहेको गड्डाचौकीस्थित भन्सार कार्यालयले जनाएको छ।

भन्सार तिरेर दिनको ७० देखि ७५ वटा भारतीय सवारी नेपाल भित्रिने गरेको भन्सार अधिकृत चक्रदेव भट्टले बताए। सुविधा बनाएर मात्रै ३ सय हाराहारी सवारी भित्रिने गरेका छन्। भैरहवामा गत शुक्रबार साँझ आयोजित आरोग्य पर्यटन प्रवर्द्धन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आध्यात्म भुलेर नेपालको पर्यटन अगाडि बढ्न नसक्ने बताए।

नेपालको प्रमुख स्थलनाका वीरगन्जबाट दिनहुँ धेरैको संख्यामा भारतीय पर्यटक नेपाल भित्रिने गरेका छन्। तर ती पर्यटकमध्ये प्रायः पर्सा–बारा क्षेत्रमा नरोकी सोझै काठमाडौं, पोखरा, मुक्तिनाथ तथा अन्य पहाडी गन्तव्यतर्फ लाग्ने गरेका छन्। यसले वीरगन्ज नाका हुँदै पर्यटक भित्रिए पनि मधेशको पर्यटन तथा होटल व्यवसायले अपेक्षित लाभ लिन सकेको छैन।

असार लागेयता दिनको सरदर ६ सयदेखि ७ सय भारतीय दुईपांग्रे तथा चारपांग्रे सवारीसाधन नेपाल प्रवेश गरिरहेको वीरगन्ज भन्सार कार्यालयको भनाइ छ। जेठमा यो संख्या दैनिक ८ सयदेखि ९ सयसम्म पुगेको थियो। भारतीय मोटरसाइकलले सामान्यतया छोटो अवधिको अनुमति लिने गरे पनि कार, जिप र भ्यानमार्फत आउने पर्यटकमध्ये धेरैले ४ देखि १० दिनसम्मको नेपाल भ्रमण अनुमति लिने गरेका छन्।

भारतका विभिन्न राज्यमा अत्यधिक गर्मी तथा विद्यालयमा गर्मी बिदा सुरु भएकाले सपरिवार नेपाल घुम्न आउने भारतीयको संख्या उल्लेख्य रूपमा बढेको छ। वीरगन्ज नाकाबाट प्रवेश गर्ने पर्यटकमध्ये प्रायः पोखरा, घान्द्रुक, पुनहिल र मुक्तिनाथतर्फ जाने गरेका छन्।

काठमाडौं पुगेर पशुपतिनाथ दर्शन गर्ने धार्मिक पर्यटकको संख्या पनि उल्लेख्य रहेको व्यवसायी बताउँछन्। नाकाबाट प्रवेश गर्ने भारतीयमा बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल, राजस्थान, दिल्ली, ओडिसा, महाराष्ट्रलगायत दक्षिण भारतीय राज्यका धार्मिक तथा पारिवारिक पर्यटकसमेत छन्।

अहिले भारतबाट आउने पर्यटक गर्मी छल्न नेपालका चिसा गन्तव्य खोज्दै आएका छन् । चित्लाङदेखि पोखरा, घान्द्रुक, पुनहिल र मुक्तिनाथसम्म होटल भरिभराउ छन्। तर त्यसको लाभ मधेशले लिन सकेको छैन।

पोखरा आउने भारतीयकै कारण गन्तव्यको पनि प्रचार भइरहेको छ। त्यसको उदाहरण भारतको उत्तर प्रदेशका साइद साह हुन्। फेसबुक र इन्स्टाग्राममा ‘भ्लगर भैया’ नामले परिचित उनले पोखराबारे मात्रै २० भन्दा बढी ‘रिल्स’ बनाएका छन्। ती रिल्स लाखौंपल्ट हेरिएका छन्।

आराध्या सिंह, मोहद उमर, रोनक राइडर जीलगायत भारतीय ‘भ्लगर’ ले उसैगरी पोखरा, मुक्तिनाथ, घान्द्रुकलगायत स्थानका थुप्रै रिल्स बनाएका छन्। रोनक राइडर पनि भारतको वाराणसीबाट मोटरसाइकलमै आफ्ना साथीहरूसँग पोखरा हुँदै मुस्ताङ घुमेर फर्किए। दुई वर्षअघि भारतका चर्चित कलाकार आशिष विद्यार्थीले पोखराबारे युट्युबमा पोस्ट गरेको भ्लगले उत्तिकै चर्चा पायो।

सामाजिक सञ्जालबाट भएको प्रचार, भारतमा बढ्दो गर्मी, सरकारको डलर–बचत नीति र बिहारको मदिरा प्रतिबन्धले यसपालि हजारौं भारतीय परिवार पोखरालगायत नेपाली गन्तव्यतर्फ तानिएका छन्।

उत्तरप्रदेशको गोरखपुरका व्यवसायी प्रमोद अग्रहरी परिवार र आफन्तसहित ९ जनाको टोली लिएर पोखरा आएका छन्। बुटवल, पाल्पाको तानसेन र रानी महल घुमेर पोखरा आइपुगेका उनीहरू अब काठमाडौं जाने योजनामा छन्। ‘फेवाताल, सराङकोट, पुम्दीकोट घुम्यौं, सबैजना रमाइलो गरिरहेका छौं,’ उनले भने।

Logo