केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ४ मंसिर ।
आउँदो प्रतिनिधि/प्रदेश सभा निर्वाचनमा राजधानी काठमाडौं अत्यन्त तरल क्षेत्रको रुपमा देखा परिरहेको छ । २०४८ देखि यताका पाँचवटै संसदीय निर्वाचनलाई आधार मान्ने हो भने राजधानी जिल्लाको निर्वाचन नतिजा वामपन्थी प्रभावभन्दाबाहिर पुगेको माओवादी शक्ति खुला राजनीतिमा आएपछि मात्र हो ।
नेकपा माओवादी सशस्त्र युद्धको बाटो परित्याग गरी शान्तिपूर्ण संसदीय राजनीतिमा होमिएपछि वामपन्थी मत विभाजन हुने र आफूहरूलाई फाइदा हुने भन्ने केही कांग्रेस निकटहरूको अपेक्षा र आंकलन नेपालका अन्य कुनै जिल्लामा लागू नभए पनि काठमाडौं र ललितपुरमा भने लागू भएको छ ।
गत स्थानीय निर्वाचनको आँकडालाई आधार मान्ने हो भने वामपन्थी गठबन्धन काठमाडौंका सबै क्षेत्रमा अघि रहे पनि प्रतिनिधि/प्रदेश सभा निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्नभने त्यत्ति सहज छैन । काठमाडौंका १० क्षेत्रमध्ये क्षेत्र नम्बर एक, दुई, चार र पाँचले राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने छन् । यिनैमध्येयहाँ क्षेत्र नम्बर एकको चर्चा गर्न खोजिएको हो । चर्चा मात्र होइन, हामी यहाँलाई १ नं क्षेत्रको संभावित मत परिणाम नै सुनाउने कोसिस गर्ने छौं ।
आसन्न प्रतिनिधि सभा निर्वाचनका १६५ क्षेत्रमध्ये धेरै चर्चामा रहेको क्षेत्र काठमाडौं क्षेत्र नम्बर एक पनि हो । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लगातार दुईपटक जितेको यो क्षेत्रअहिले उनकालागि कति सुरक्षित छभन्ने चासो धेरैमा रहेको पाइन्छ ।
गत स्थानीय निर्वाचनमा यस निर्वाचन क्षेत्रअन्तरगत रहेका वडाअध्यक्षहरूको मत परिणाम हेर्दा यो क्षेत्रमा एमाले र माओवादी केन्द्रसहितको वामगठबन्धनको मत १०,९८८ रहेको छ । यसैगरी, कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको मत १०,३८२ रहेको छ ।
वडाअध्यक्षको मत हेर्दा यो क्षेत्रमा दुई पक्षीय प्रतिस्पर्धा देखिए पनि वडाहरूमा रहेको मतको टे«ेन्ड अस्थिर रहेका कारण निर्वाचनको परिणाम यसै भन्न नसकिने देखिएको छ । वामगठबन्धनको तर्फबाट यो क्षेत्रमा अनिल शर्मा उम्मेदवार छन् । उनी पूर्व ऊर्जा एवम गृहमन्त्री जनार्दन शर्माका भाइ हुन् तर राष्ट्रिय राजनीतिका सन्दर्भमा यस क्षेत्रकालागि नयाँ लाग्छन् ।
दुई गठबन्धनको स्थानीय निर्वाचनमा वडाअध्यक्षको मतलाई आधार मान्दा वामपन्थीको प्रभाव जति रहे पनि राष्ट्रिय राजनीतिमा छवि बनाइसकेका प्रकाशमानका अघि तुलनात्मक रूपमा नयाँ अनुहार अनिल फिक्का साबित हुने अनुमान धेरैको छ । तर इतिहास नियाल्ने हो भने मदन भण्डारी र विद्या भण्डारी जस्ता ‘अपरिचित’ नेताहरुले तत्कालीन अवस्थामा निकै नै लोकप्रिय मानिएका प्रधानमन्त्री तथा कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई हराएका थिए । त्यसकारण बाम गठबन्धनका माओवादी उम्मेदवार अनिल शर्मालाई कम आँके त्यो प्रतिद्वन्दीहरुकालागि घातक हुनसक्छ ।
परन्तु विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रको उपस्थितिका कारण यो निर्वाचन क्षेत्रमा रौनक थपिएको छ । निर्वाचनको परिणाम जता गए पनि विवकेशील साझाको उपस्थितिका कारण पछिल्लो पुस्तामा राजनीतिप्रतिको चासो पनि जागेको छ । काठमाडौं चाबहिलका मिश्रले यही स्थान रोज्नुमा खास कारण पनि देखिएका छन् । एलिट (कुलिन) वर्ग रहेको यो क्षेत्रमा गत स्थानीय निर्वाचनमा पनि विवेकशीलकी रञ्जु दर्शना र साझा पार्टीका उम्मेदवार किशोर थापाले मनग्ये मत पाएका थिए । यसै कारण मिश्रको उत्साह र चर्चा स्वभाविक पनि हो ।
यस क्षेत्रको प्रदेश ‘क’ मा वडाहरू १०,११ र २९ रहेका छन् । यीतीनवटै वडा नेपाली कांग्रेसको परम्परागत प्रभाव क्षेत्रका रुपमा रहँदै आएका छन् । तथापि गत स्थानीय निर्वाचनमा यी तीनवटै वडामा कांग्रेस र एमाले हाराहारीको अवस्थामा देखिएका थिए ।
मेयर उम्मेदवारका रुपमा भने विवेकशीलकी रञ्जु दर्शना यी वडाहरूमा लोकप्रिय देखिएकी थिइन् । साथै साझा पार्टीका किशोर थापाले पनि राम्रो मत ल्याएको यो क्षेत्रमा कांग्रेसका प्रकाशमान सिंहले वामगठबन्धनका उम्मेदवार अनिल शर्मालाई पछि पार्न सक्ने सम्भावना प्रबल छ । तर रवीन्द्र मिश्रले रञ्जु र किशोरको भोट जोडेर लिन सकेभने उनकै पल्लाभारी हुन सक्छ । सायद यही कारण मिश्रले नै सिंहलाई चुनौती दिने आंकलन सुरु भएको छ । स्थानीय निर्वाचनमा १० र ११ दुईवटै वडामा कांग्रेसले झिनो मतले जीत निकालेको थियो ।
११ नम्बर वडामा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार भएका शत्रुघ्न राज भण्डारी अहिले एमाले प्रवेश गरिसकेका छन् । तथापि उनले स्थानीय निर्वाचनमा ल्याएको ४ सय ४ मत अहिले वाम गठबन्धन, कांग्रेस, विपी कांग्रेसका हरिबोल भट्टराई र विवेकशील साझा पार्टीलाई बाँडिने सम्भावना छ ।
१० नम्बर वडा भने नेपाली काँग्रेस( विपी)का अध्यक्ष हरिबोल भट्टराईको प्रभाव क्षेत्र मानिन्छ । धेरैजना स्थानीयको आंकलनअनुसार, वडा नम्बर १० मा माओवादीप्रति नकारात्मक प्रभाव रहेको, एलिट वर्गमा रवीन्द्र मिश्रको प्रभाव रहेको तथा भट्टराईको लोकप्रियताका कारण स्थिति यसै भन्न सकिँदैन । हरिबोल भट्टराई एक हिसावले प्रकाशमानका बागी हुन् । ११ नम्बर वडामा भने कांग्रेसको प्रभाव बलियो छ ।
यो वडामा रहेका चारवटा मतदान केन्द्रमा त्रिपुरेश्वर क्षेत्र मिश्र र भोटेबाहल क्षेत्र सिंहको प्रभाव क्षेत्रकारूपमा रहेका छन् । २९ नम्बर वडामा प्रकाशमान र मिश्रको उत्तिकै प्रभाव देखिन्छ । यो क्षेत्र पनि स्थानीय निर्वाचनमा रञ्जु दर्शनाको प्रभाव बढी रहेको क्षेत्र हो । वामपन्थी र कांग्रेसको बराबर मत रहेको यो वडामा त्रिपक्षीत्र भिडन्त नै हुने अनुमान गरिएको छ ।
प्रदेश‘ख’मा एउटै वडा छ । वडा नम्बर ३१ मा गत स्थानीय निर्वाचनमा एमालेले जित हात पारेको थियो । यो वडामा पनि त्रिपक्षीय प्रतिस्पर्धाको अनुमान गरिएको छ ।तर, वडा नम्बर ३१ को आंकलन गर्न निकै नै कठिनछ । किनपनि भने यहाँको मत धेरै तरल मानिन्छ ।
एउटा कुरा के निश्चित छ भने २०४८ देखि हालसम्म एक नम्बर क्षेत्रमै रहेका यहाँका मतदाताले आठांैपटक ससंदीय निर्वाचनमै मतदान गरे पनि एकपटक नारायण ढकालबाहेक क्षेत्र बाहिरबाट आएकालाईनै सांसदको रुपमा स्वीकार्न बाध्य छन् । यस पटक पनि उनीहरु क्षेत्र वाहिरवाट आएको ‘टुरिष्ट’ उम्मेदवारलाई नै प्रतिनिधि भन्न बाध्य हुने छन् ।नेपालमा सबैभन्दा धेरै पटक संसदीय निर्वाचनमा मतदान गर्ने यहाँकै वडावासी हुन् ।
प्रदेशका उम्मेदवार
प्रदेश ‘क’ मा कांग्रेसले दीपेन्द्र श्रेष्ठ र‘ख’ मा सूरज लामिछानेलाई उम्मेदवार बनाएको छ । प्रदेश ‘क’ मा उम्मेदवार बन्न चाहेर नपाएपछि मोहन राईका निकटहरूले असन्तुष्टि देखाएका थिए । यसको असर निर्वाचनमा कत्तिको पर्ने हो? प्रतीक्षाको विषय बनेको छ ।
एमालेका तर्फबाट प्रदेश ‘क’ मा विष्णुकुमारी भुषाल र‘ख’ मा गणेशप्रसाद दुलाल उम्मेदवार भएका छन् । नेपाली कांग्रेस (विपी) ले ‘क’ मा धनबहादुर लामा र‘ख’ मा अशोक न्यौपानेलाई उम्मेदवार बनाएको छ । विवेकशील साझा पार्टीले समीक्षा बास्कोटा र ‘ख’ मा पुरुषोत्तम ढुंगेललाई उम्मेदवार बनाएको छ । बास्कोटा कांग्रेसी पारिवारिक पृष्ठभूमिकी उम्मेदवार भएका कारण उनले पनि कांग्रेसलाई नकारात्मक असर पु¥याउने अनुमान गर्न सकिन्छ ।
यसरी समग्रमा, मिश्रको उपस्थितिले गर्दा दुई पक्षीयबाट त्रिपक्षीय बनेको काठमाडौं क्षेत्र नम्बर एकको निर्वाचन लेखाजोखा आफैंमा कठिन छ । रवीन्द्र मिश्रको चर्चा भइरहँदा पुराना राजनीतिक बुजु्रकहरु इतिहास संझन्छन् । इतिहासमा पनि उनीहरु सांसद (रापंस) पद जितेकी नानी मैयाँ दाहाललाई संझिन्छन् । यसको अर्थ के हो भने काठमाडौंले कसलाई कतिबेला जिताउँछ र कतिबेला हराउँछ, थाहा नै हुन्न ।
तर निष्कर्षमा के चाहिँ भन्न सकिन्छ भने वाम र लोकतान्त्रिक गठबन्धनले गर या मरको अवस्थामा कार्यकर्ता र शुभचिन्तकलाई एकोहोरो बनाउन सकेभने त्यहाँ तेस्रो उम्मेदवारलाई जीत निकाल्न अप्ठेरो पर्ने छ । तर कार्यकर्तालाई लगाम लगाउन सकेनन् र जनताको वितृष्णामा मलम लगाउन वाम र लोकतान्त्रिक गठबन्धन चुके भने तेस्रो पक्षले जीत निकाल्न नसक्ला भन्न सकिन्न ।

प्रकाशमानका आधार
पिता/माता गणेशमान सिंह/मंगलादेवीको विरासत
सांगठनिक भोट धेरै भएको क्षेत्र
राष्ट्रिय राजनीतिमै प्रभाव पार्ने व्यक्तित्व
ड्र ब्याक
पछिल्लो समय कांग्रेसपार्टीको बिग्रँदो छवि
उदाएको विवेकशील साझामा कांग्रेस पृष्ठभूमिकै व्यक्ति रहनु
क्षेत्र बाहिरको व्यक्ति
शर्माका आधार
वामगठबन्धन
विद्यार्थी राजनीतिको निरन्तरता
ड्र ब्याक
निर्वाचन क्षेत्रमा कम परिचित
जिल्ला बाहिरको
यस क्षेत्रमा माओवादीप्रतिको नकारात्मक धारणा
मिश्रका आधार
बिबिसीमा काम गरेको पृष्ठभूमि
पेसागत रुपमा चिन्ने एलिट वर्ग मतदाता रहेको क्षेत्र
युवा पुस्तामा पलाएको वैकल्पिक सोच र नेतृत्वको चाहना
मूलधारको राजनीतिप्रतिको युवा वितृष्णा
ड्र ब्याक
कमजोर सांगठनिक संरचना
निर्वाचन र राजनीतिक अनुभवको कमी
क्षेत्र बाहिरका व्यक्ति





























प्रतिक्रिया