काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघले अन्योल र अनिश्चिताबीच मंगलबार साफ च्याम्पियनसिप २०२६ को मिति र आयोजना हुने स्थान घोषणा गरेको छ ।
अपेक्षाअनुसार नै यसपल्टको प्रतियोगिता बंगलादेशको ढाकामा हुँदै छ । आयोजनाको समय छ, नोभेम्बर ४ देखि १७ सम्म । यो साफ च्याम्पियनसिपको १५ औं संस्करण हुनेछ र सन् २०१८ यता पहिलो पटक प्रतियोगिता बंगलादेशमा फर्केको छ ।
नेपाली फुटबलको अहिलेको स्थिति कायम रहने हो भने नेपालले यो प्रतियोगिताकै इतिहासमा पहिलो पटक खेल्ने पाउने छैन । किनभने नेपाल अहिले फिफाको प्रतिबन्धबाट गुज्रिइरहेको छ । प्रतिबन्धको स्थितिमा सहभागिताको अवसर नै रहने गर्दैन ।
सन् १९९३ देखि साफ च्याम्पियनसिपको आयोजना सुरु भएको हो । त्यतिबेलादेखि दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा नेपालको सहभागिता निरन्तर रहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह भने साफ च्याम्पियनसिपमा नेपालको सहभागिता लिएर आफू अझै पनि आशावादी रहेको र चाँडै केही निर्णय आउन सक्ने बताउँछन् ।
उनले भने, ‘साफ च्याम्पियनसिप नेपाली फुटबलका लागि अत्यन्त महत्त्वपूर्ण प्रतियोगिता हो । स्वभाविक रूपमा हामी पनि त्यसमा नेपालको सहभागिता निश्चित होस् भन्ने चाहन्छौं । तर एन्फा प्रतिबन्धमा रहेको स्थितिमा कुनै निश्चित धारणा सार्वजनिक गर्न सकिन्न । त्यसैले हामी सरकारसामु प्रतिबन्ध फुकुवा गर्ने बाटो निर्माण गर्न अनुरोध गर्छौं ।’
‘हामीले सकारात्मक समाधानको अपेक्षा गरिरहेका छौं । प्रतिबन्ध फुकुवा हुनेबित्तिकै साफ च्याम्पिनयसिपसहित आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता निश्चित गर्न आवश्यक सबै प्रक्रिया अगाडि बढाइने छ,’ प्रवक्ता शाहले भने, ‘हाम्रो मुख्य उद्देश्य प्रतिबन्ध सक्दो चाँडै फुकुवा गरेर नेपाली फुटबललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्काउनु हो ।’































