दिल्लीमा कुमार बेन र अजित डोभालबिच भेट, प्रधानमन्त्रीलाई भारत भ्रमण गराउने कसरत

दिल्लीमा कुमार बेन र अजित डोभालबिच भेट, प्रधानमन्त्रीलाई भारत भ्रमण गराउने कसरत

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले नयाँ दिल्ली पुगेर भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग जुलाई पहिलो साता भेटवार्ता गरेको खुलासा भएको छ।

विदेश भ्रमण तत्काल गर्ने कि नगर्ने वा गरे कुन देश पहिला जाने भन्ने अनिर्णयमा रहेका प्रधानमन्त्री शाहले सरकार बनेको सय दिन पुगेलगत्तै प्रमुख सल्लाहकार बेनलाई दिल्ली पठाएर भारत भ्रमणको तयारीमा लागेको जनाउ दिएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका केही उच्च नेताहरू र प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतहरूका अनुसार प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार बेन भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गर्न आफूनिकट रोशन खड्काको साथमा दिल्ली पुगेका थिए।

दिल्लीमा उनले भारतको विदेश मन्त्रालयका केही उच्च अधिकारीसँग पनि भेटवार्ता गरेको स्रोतहरूले जनाएका छन्। परराष्ट्रमन्त्री शिशिर खनाल (२२–२४ जेठ) र रास्वपा सभापति रवि लामिछाने (१८–२२ जेठ) ले भारत भ्रमणका क्रममा नेपालको नयाँ सरकारका प्राथमिकताहरूबारे पहिले नै ब्रिफिङ गरिसकेकाले यो भेट खासगरी प्रधानमन्त्री शाहको भारत भ्रमणमा केन्द्रित भएको अधिकारीहरूले जनाएका छन्।

‘डोभाललाई बालेन सरकारको छिमेक नीति र प्राथमिकताहरूबारे ब्रिफिङ गर्ने काम भयो, प्रधानमन्त्री शाहको भारत भ्रमणका सम्भावित एजेन्डा र तयारीबारे पनि छलफल भयो,’ भेटबारे जानकार प्रधानमन्त्री कार्यालय सम्बद्ध एक अधिकारीले भने, ‘अहिले नै प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति तय भइसकेको छैन। तर, अब तयारी गर्दै जाने समझदारी भएको छ।’

ती अधिकारीका अनुसार प्रधानमन्त्री शाहलाई सकेसम्म चाँडै भारत भ्रमण गराउनुपर्ने डोभालको भनाइ थियो। ‘चुनावमा ठूलो जितपछि युवा प्रधानमन्त्री बनेकाले चाँडै भ्रमण गराउँदा त्यसको महत्व र आकर्षण हुन्छ,’ डोभालको आशय खुलाउँदै उनले भने, ‘हामी प्रधानमन्त्री शाहलाई दिल्लीमा स्वागत गर्न चाहन्छौँ।’

राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल दिल्लीमा नेपाल नीति निर्माणमा निर्णायक मानिन्छन्। प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र डोभाल मन्त्रीस्तरका उच्च सुरक्षा अधिकारी हुन्। मोदीले दिल्लीमा सभापति लामिछानेसँग भेटवार्ता गर्दा विदेशमन्त्री एस जयशंकर, डोभाल र विदेश सचिव विक्रम मिश्रीलाई सँगै राखेका थिए। विदेशी नेताहरूसँगको भेटवार्तामा प्रधानमन्त्री मोदीसँगै बस्ने यो भारतको सबैभन्दा उच्च टिम हो।

मोदीसँग भेटवार्तामा बस्नुअघि डोभालले लामिछानेसँग छुट्टै वार्ता गरेका थिए। त्यसलगत्तै भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि डोभालले छुट्टै भेटवार्ता गरेका थिए।

दिल्लीबाट फर्केर कुमार बेनले शाह र लामिछानेलाई गरेको ब्रिफिङपछि प्रधानमन्त्री शाहले काठमाडौँस्थित भारतीय राजदूत नवीन श्रीवास्तवसँग एक्लै भेटवार्ता गर्ने तय भएको छ। सम्भवतः यही साताभित्रै शाह र श्रीवास्तवबिच पहिलो पटक एक्लाएक्लै भेट हुनेछ।

Logo