मुलुकभित्रै स्वदेशी कफीको खपत बढ्दो

मुलुकभित्रै स्वदेशी कफीको खपत बढ्दो

केन्द्रबिन्दु
0
Shares

 

काठमाडौँ, ३० कात्तिक । मुलुकमा कफीको उत्पादन बढेसँगै प्रमुख शहरमा विदेशी कफीको तुलनामा स्वदेशी कफीको खपत पनि बढ्दै गएको छ ।

पछिल्लो तथ्याङ्कअनुसार गत वर्ष देशभर जम्मा ४ सय ६६ मेट्रिक टन कफी उत्पादन भएको देखिन्छ । यो उत्पादन अघिल्लो वर्षको तुलनामा करिब सात प्रतिशतले वृद्धि हो । उक्त वर्ष ४ सय ३४ मेट्रिक टन कफी उत्पादन भएको थियो ।

मुलुकभित्रै स्वदेशी कफीको माग बढ्दै गएपछि हाल नेपालमा विदेशी कफीको आयात घटेको छ भने स्वदेशी कफीको निर्यात पनि कम भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिए ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३/७४ मा ५ करोड ४ लाख रुपैंया बराबरको ९९ मेट्रिक टन कफी आयात भएको छ भने ८ करोड ४५ लाख रुपैंया बराबरको ९५ मेट्रिक टन कफी निर्यात भएको थियो ।

कार्यकारी निर्देशक गौतमका अनुसार गत वर्षको तुलनामा कफीको आयात र निर्यात दुवै घटेको तथ्याङ्कले देखाउँछ, उत्पादन बढिरहँदा आयात र निर्यात दुवै घट्नुले नेपाली कफीको बजार नेपाल भित्रै बढ्दै गएको अनुमान गर्न सकिन्छ ।

बोर्डले मुलुकभित्र कफी उत्पादनलाई प्रोत्साहन गर्न हरेक वर्ष विभिन्न कार्यक्रम गरी मंसिर १ गते राष्ट्रिय कफी दिवस मनाउँदै आएको छ । यस वर्ष पनि बोडले ‘आर्थिक समृद्धिका लागि गुणस्तरीय कफी उत्पादन, सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ नाराका साथ १३औँ राष्ट्रिय कफी दिवस मनाउँदैछ ।

बोर्डका निर्देशक दीपक खनालले २०७२ साललाई नर्सरी वर्षका रुपमा मनाएको र २०७३ साललाई रोपण वर्षका रुपमा मनाई कफी उत्पादन बढाउन प्रचारात्मक र चेतनामूलक कार्यक्रम देशभरि गरेको जानकारी दिए ।

विभिन्न जिल्लामा बोर्ड तथा जिल्ला कृषि विकास कार्यालयले सञ्चालन गरेको कफी विस्तार कार्यक्रमको प्रभावस्वरूप कफी रोपण क्षेत्र विस्तार हुँदा कफी उत्पादन बढेको हो । बोर्डका अनुसार गत वर्षको २ हजार ६ सय १८ हेक्टरबाट बढेर यस वर्ष कफी रोपण क्षेत्र २ हजार ६ सय ४६ हेक्टर पुगेको छ ।

कफी व्यवसायी कृष्ण घिमिरेले मुलुकका प्रमुख शहरमा कफी क्याफे हाउसको विस्तारले नेपाली कफीको लोकप्रियता बढ्दै गएको बताए । उत्पादनमा अझ वृद्धि गर्दै निर्यात पनि बढाउनुपर्ने बताउँदै व्यवसायी घिमिरेले त्यसका लागि सम्बन्धित निकायबाट प्रोत्साहनका प्रभावकारी कार्यक्रमको खाँचो रहेको औँल्याए ।

यस वर्ष बोर्डले करिब सात लाख गुणस्तरीय कफी बिरुवा रोपण गरेको जनाएको छ । यस वर्ष नेपालले विश्व कफी क्षेत्रको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय कफी संगठनको सदस्यतासमेत प्राप्त गरेको छ । हाल मुलुकका ४२ जिल्लामा कफी उत्पादन हुन्छ भने गुल्मी, ललितपुर र सिन्धुपलाञ्चोकको कफीलाई ब्राण्डेड बनाई विदेशमा निर्यात गरिँदैै आएको छ ।

Logo