काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धका क्रममा अमेरिकाको गोलाबारुद र हतियारको भण्डार सकिँदै गएको भन्ने समाचारको खण्डन गरेका छन् । द वाल स्ट्रिट जर्नलसँग ट्रम्पले भने, “हामीसँग विश्वका जुनसुकै देशभन्दा धेरै र हाम्रो आवश्यकताभन्दा निकै बढी गोलाबारुद छ ।”
यसअघि द वाल स्ट्रिट जर्नलले जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले ह्वाइट हाउसलाई अमेरिकी वायु रक्षा प्रणालीका इन्टरसेप्टर मिसाइलहरूको भण्डार घट्दै गएको जानकारी गराएको जनाएको थियो ।
यसैबीच, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानको ऊर्जा पूर्वाधारलाई लक्षित आक्रमणको संकेत दिने एआईबाट सिर्जित धेरै तस्बिरहरू सार्वजनिक गरेका छन् ।
तीमध्ये एउटा तस्बिरमा युद्धक विमानहरूले एउटा तेल प्रशोधन केन्द्रमा बमबारी गरिरहेको दृश्य देखाइएको छ, जसको क्याप्सन स्टाइक अन खर्ग (खार्गमा आक्रमण) राखिएको छ । यसले इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुलाई संकेत गरेको मानिएको छ ।
त्यसपछि ट्रम्पले इट्स आवर ओयल ट्यांकर नाउ ! (अब यो हाम्रो तेल ट्यांकर हो !) शीर्षकसहित एआई–निर्मित थप तस्बिरहरू क्रमिक रूपमा पोस्ट गरेका छन् । ती तस्बिरहरूमा ट्रम्पलाई इरानीजस्तो देखिने एउटा तेल ट्यांकरमा अमेरिकी झण्डा समातेको अवस्थामा देखाइएको छ । केही तस्बिरमा अमेरिकी सैनिकहरू पनि छन् भने अर्कोमा सैनिकहरूसँगै इरानी धार्मिक नेताहरूको चित्रसमेत समावेश छ ।
यसपछि ट्रम्पले नो मोर इन्जिन (अब कुनै इन्जिन रहने छैनन्) शीर्षकसहित अर्को एआई–निर्मित तस्बिर सार्वजनिक गरेका छन्, जसमा एउटा इरानी जहाज विस्फोटपछि ध्वस्त भइरहेको दृश्य देखाइएको छ । टाइम्स अफ इजरायल




















