काठमाडौं । बाल गायक तथा कलाकार अशोक दर्जीले आफूमाथि दुर्व्यहार गर्नेहरूविरुद्ध प्रहरीमा उजुरी दिएको बुझिएको छ। उनका अनुसार यो घटना हालैको नभइ करिब डेढ महिनाअघि भएको हो।
अशोकले घटनासम्बन्धी निवेदन प्रहरीमा दर्ता गरिसकेको उल्लेख गर्दै वास्तविकता अनुसन्धानबाट स्पष्ट हुने विश्वास व्यक्त गरेका छन्। आफू हाल काठमाडौंमा रहेको र घटनाबारे विस्तृत धारणा सार्वजनिक गर्ने तयारीमा रहेको पनि उनले जानकारी दिएका छन्।
अशोकले इलाका प्रहरी कार्यालय अनारमणीमा दिएको निवेदनमा आफूलाई सार्वजनिक स्थानमा चोरको आरोप लगाउँदै केही व्यक्तिले कुटपिट गरेको, सोक्रममा भिडियोसमेत खिचेर सामाजिक सञ्जालमा फैलाएको उल्लेख गरेका छन्। निवेदनअनुसार घटनाले आफ्नो प्रतिष्ठा र भविष्यमा नकारात्मक असर पार्ने अवस्था सिर्जना भएकाले दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न अशोकले प्रहरीसँग आग्रह गरेका छन्।
निवेदनमा उल्लेख भएअनुसार केही समयअघि आफन्तकहाँ जाँदा एक व्यक्तिले चिनजानकै अर्को व्यक्तिबाट रकम लिएर गएको र आफूहरू केहीबेर पर्खिएपछि घर फर्किएको विवरण छ। त्यसको करिब एक सातापछि अर्को स्थानमा स्कुटरमा इन्धन हालिरहेको अवस्थामा दुई जनाले आफूलाई अचानक चोरीको आरोप लगाउँदै दुव्र्यवहार गरेको, कुटपिट गरेको र भिडियो रेकर्ड गरेको दाबी गरिएको छ।
साथै, उक्त भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरेर आफ्नो चरित्रमाथि आघात पुर्याइएको, भिडियो हटाइदिन आग्रह गर्दासमेत धम्कीपूर्ण व्यवहार गरिएको भन्दै सम्बन्धित व्यक्तिहरूमाथि कानुनी कारबाहीको माग गरिएको छ।
यता जिल्ला प्रहरी कार्यालय झापाले अशोक दर्जीको निवेदन दर्ता भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ। अशोकमाथि दुर्व्यहार भएको भिडियो आइतबार सार्वजनिक भएको थियो।




















