विवादमा केपी खनाल, आफ्नै मतदातालाई दिए धम्की

विवादमा केपी खनाल, आफ्नै मतदातालाई दिए धम्की

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनाल कैलालीस्थित आफ्नो निर्वाचन क्षेत्रमा नागरिकका गुनासा र सुझाव संकलन गर्न पुगेका बेला लम्कीचुहा अस्पतालमा भएको छलफलमा विवादमा तानिएका छन्।

अस्पतालको सेवा प्रवाह, व्यवस्थापन र देखिएका समस्याबारे आयोजित अन्तरक्रियाका क्रममा उनले दिएको प्रतिक्रिया समेटिएको भिडिओ सार्वजनिक भएपछि सांसद खनाल विवादमा तानिएका हुन्।

भिडिओमा उनी अस्पताल व्यवस्थापन समितिका सदस्य धिरेन्द्र थापातर्फ औंला देखाउँदै आक्रोशपूर्ण शैलीमा बोलिरहेका देखिन्छन्। उनले ‘कसले भन्यो? प्रमाण छ? समाएर देखाइदिन्छु, त्यसपछि थाहा हुन्छ’ भन्ने आशयको अभिव्यक्ति दिएका छन्।

व्यवस्थापन समितिका सदस्य थापाले भने छलफलको उद्देश्य अस्पतालले भोगिरहेका चुनौतीबारे जनप्रतिनिधिलाई जानकारी गराउनु रहेको बताए।

‘मैले स्थानीय नागरिकको गुनासो मात्रै राखेको थिएँ। त्यसक्रममा उहाँ आवेशमा आउनुभयो र जाकिदिन्छु भन्ने अभिव्यक्ति दिनुभयो,’ थापाले भने।

उनका अनुसार साउन ९ गते अज्ञात समूहले अस्पतालमा तालाबन्दी गरेपछि अस्पतालको सुरक्षा र नियमित सञ्चालनप्रति चिन्ता बढेको थियो। सोही विषयलाई लिएर छलफलमा सुरक्षा व्यवस्थालाई प्राथमिकताका साथ उठाइएको थापाले बताए।

Logo