२०, भदौ ,पोखरा
पोखरा लेखनाथ महानगरपालिका–१४ स्थित चाउथेमा बस्दै आएकी एक महिला व्यवसायी, आफन्त र छिमेकीलाई झण्डै ४० करोड ठगेर बेपत्ता भएकी छन् । डेढ दशक अघिदेखि धेरैसँग पैसाको लेनदेन र कारोबार गरेर मन जित्दै आएकी स्यांजा भाटखोला घर भई चाउथेमा बस्दै आएकी ४२ वर्षीया देवकुमारी भुजेल ५३ जनालाई ठगेर भागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए ।
पोखराको बिरौटा बस्दै आएकी प्रमिला रानाभाटले देवकुमारीले आफ्नो दुई करोड ठगिएको बताइन् । पन्ध्र वर्षसम्म उनीहरुसँग आफूले लेनदेनको व्यवहार गर्दै आएकोमा बेलाबेलामा लगेको पैसाको व्याज समयमै दिने र मागेका समयमा पैसा पनि फिर्ता गरिहाल्ने गरेकाले आफू विश्वासमा परेको उनले बताएकी छिन् । त्यस्तै स्यांजा घर भई बगाले टोलमा बस्दै आएकी निर्मला शर्मा पराजुली आफू ९० लाख ठगिएको बताउँछिन् । अनेक बहाना गरेपछि आफूसँग भएको ८२ लाख र भाइसित मागेर आठ लाख निजलाई दिएको उनले बताएकी छिन् । यस्तै बिरौटा बस्ने गायत्री अर्यालको ३५ लाख र मासवारकी सुशीला सिग्देलको १० लाख लिएर भुजेल भागेको प्रहरी प्रवक्ता खत्रीले बताए । उनी बेपत्ता भएपछि ठगिएका महिलाहरुले उनको खोजी गर्न प्रहरी कार्यालयमा निवेदन दिएका छन् । रासस





























प्रतिक्रिया