टी–२० म्याचमा वेस्ट इन्डिजविरुद्ध भारतको लज्जास्पद हार

टी–२० म्याचमा वेस्ट इन्डिजविरुद्ध भारतको लज्जास्पद हार

केन्द्रबिन्दु
0
Shares

जमैका, २६ असार । टी–२० अन्तर्राष्ट्रिय खेलमा विश्व विजेता वेस्ट इन्डिजले भारतलाई ९ विकेटको लज्जास्पद हारको स्वाद चखाएको छ । भर्खरै मात्र भ्रमणकारी टोलीविरुद्ध एकदिवसीय शृंखला गुमाएको वेस्ट इन्डिजले घरेलु मैदान सबिना पार्कमा भएको चालु शृंखलाको एकमात्र टी–२० म्याच जितेर भारतसँग त्यसको बदला पनि लियो ।

टस जितेर पहिलो फिल्डिङ रोजेको वेस्ट इन्डिजविरुद्ध भारतले ६ विकेट गुमाएर १ सय ९१ रनको चुनौती पेस गरेको थियो । भारतका लागि विराट कोहलीले ३९, शिखर धवनले २३, ऋषभ पन्तले ३८ र दिनेश कार्तिकले सर्वाधिक ४८ रन बनाए ।

वेस्ट इन्डिजबाट जेरोमी टेलर, किसरिक विलियम्सले २–२ र मर्लन स्यामुयल्सले १ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिज सुरुआतबाटै आक्रामक देखियो । इभिन लुइसले करियरकै सर्वाधिक उत्कृष्ट प्रदर्शन गर्ने क्रममा नटआउट १ सय २५ रन बनाए । उनले केवल ६२ बल सामना गर्दै ६ चौका र १२ छक्का प्रहार गरे । उनले दुईपटक क्इाच छुटेर जीवनदान पाएका थिए ।

उनीसँग मिलेर अर्का ओपनर क्रिस गेलले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरे । यसक्रममा गेलले १८ रन प्रहार गरे । कुलदीप यादवको बलमा गेललाई धोनीेले क्याच आउट गर्दै पेभेलियनको बाटो देखाएका थिए ।

गेल आउट भएपछि मैदान छिरेका मर्लन स्यामुयल्स र लुइसको जोडीले अविजित १ सय १२ रनको साझेदारी गर्यो । स्यामुयल्सले ३८ रन बनाए ।

इभिन लुइसको यो दोस्रो शतक हो । यससँगै उनी ब्रन्डन म्याकलुम र क्रिस गेलपछि टी–२० क्रिकेटमा दुई शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । उनले लगाएको १२ छक्का टी–२० को एउटा इनिङमा कुनै खेलाडीले प्रहार गरेको तेस्रो सबैभन्दा बढी छक्का संख्या हो । आरोन फिन्चले १४ र रिचर्ड लेभीले १३ छक्का प्रहार गरेका थिए ।

उक्त म्याच हारेसँगै टी–२० क्रिकेटमा भारतको वरीयता घटेको छ र अब भारत यो वरीयता सूचीमा पाँचौँ स्थानमा ओर्लेको छ । यसअघि भारत चौथोमा र वेस्ट इन्डिज पाँचौँ स्थानमा थिए । यसमा नम्बर एक स्थानमा भने न्युजिल्यान्ड र दोस्रोमा इंग्ल्यान्ड छ ।

टी–२० क्रिकेटको आइसिसी विश्व वरीयता सूचीमा रहेका दश टोली यस प्रकार छन्–
१. न्युजिल्यान्ड,
२. इंग्ल्यान्ड,
३. पाकिस्तान,
४. वेस्ट इन्डिज,
५. भारत,
६. अस्टे«लिया,
७. दक्षिण अफ्रिका,
८. श्रीलंका,
९. अफगानिस्तान, र
१०. बंगलादेश ।

Logo