मिडिया एक्सन नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पन्त

मिडिया एक्सन नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पन्त

केन्द्रबिन्दु
0
Shares

अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास, सूचना तथा संचार क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपालको नयाँ नेतृत्वमा आगामी ४ वर्षका लागि सञ्चारविज्ञ लक्ष्मणदत्त पन्त चयन भएका छन्। शनिबार सम्पन्न मिडिया एक्सन नेपालको पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय अधिवेशनबाट पन्तको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन भएको हो । 

सो अवसरमा आयोजित छलफल कार्यक्रममा वरिष्ठ पत्रकार धुव्रहरि अधिकारीले समग्र मिडियाले निष्पक्ष तथ्य समाचारलाई प्राथमिकता दिई समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले मिडियाबाट हुने कमी कमजोरीलाई आत्मसाथ गर्दै सुधार गर्नुपर्ने बताए । 

यसैगरी प्रेस काउन्सिलका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले पत्रकारिता क्षेत्रमा विकृति बढ्दै गएको र यसलाई सुधार्नका लागि नियमन गर्ने संस्था त छँदैछ त्यसबाहेक पत्रकार स्वयंले पनि जिम्मेवारी र उत्तरदायित्व बहन गर्नु पर्नेमा जोड दिए । उनले मिडिया एक्सन नेपालले पछिल्लो समयमा गरेको मिडिया सम्बन्धी अनुसन्धानले यस क्षेत्रमा सुधार ल्याउन सहयोग पुग्ने बताए । 

यसैगरी प्रेस काउन्सिलका प्रमुख कार्यकारी अधिकृत झबिन्द्र भुसालले पत्रकार आचारसंहितामा रहेर काम गर्नु पर्ने भए पनि अहिले पनि मिडिया क्षेत्रमा धेरै भ्रामक र उत्तेजनात्मक सामग्री आउने गरेको बताए । उनले कतिपय अनलाइन दर्ता नै नभई सञ्चालन भइरहेको र तिनले दिने सामग्री नियमन गर्न गाह्रो पर्ने गरेको जानकारी दिए । 

उता राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतले मिडियामा आउने सामग्रीले सधैं सूचना मात्र नदिई कहिलेकाहीं समाजमा झनै त्रास फैलाउने गरेको बताए । उनले कोरोना महामारीका बेला अनेक खालका मनोमानी हिसाबले सूचना दिंदा नागरिक त्रसित बनेको भन्दै इन्फोडेमिकको शिकार हुन पुगेको प्रसंग निकालेका थिए । 

आज सम्पन्न अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष लक्षणदत्त पन्तले मिडिया एक्सन नेपालले नेपाली मिडिया स्वतन्त्र, निष्पक्ष र उत्तरदायी हुनु पर्ने म्यान्डेटसहित अघि बढेकाले सोही बमोजिम विभिन्न छलफल, अध्ययन अनुसन्धान जस्ता कार्यक्रम गर्दै आएको बताए । साथै यस संस्थाले अन्तर्राष्ट्रिय स्तरमै यस्ता छलफल, नीति निर्माणमा समेत सहयोग पुग्ने गरि कार्यक्रमहरु आयोजना गरिरहेको जानकारी दिए । 

सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा प्रियंका झा, सचिवमा आरती शिल्पकार, कोषाध्यक्षमा दीपा केसी चयन भएका छन् । साथै सदस्यहरुमा यमबहादुर दूरा, गणेशप्रसाद घिमिरे र आशिष मिश्र चयन भएका छन् । यसैगरी संस्थाले ७ वटै प्रदेशमा संयोजक समेत चयन गरेको छ । प्रदेश १ मा नरेन्द्र ढकाल, प्रदेश २ मा हदिस खुद्दार, बाग्मतीमा मधुसुदन दवाडी, गण्डकीमा सुनिता आचार्य, लुम्बिनीमा सन्जु पौडेल, कर्णालीमा ललित बुढा र सुदूरपश्चिममा उमाकान्त जोशी चयन भएका छन् । 

यसैगरी संस्थाको सल्लाहकाहरुमा वरिष्ठ पत्रकार भारतदत्त कोइराला, धुव्रहरी अधिकारी, माधव शर्मा र वरिष्ठ अधिवक्ता एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बोर्णबहादुर कार्की रहेका छन् । त्यसैगरी मानार्थ सदस्यमा अन्तर्राष्ट्रिय विज्ञहरुलाई राखिएको छ। दुबईको खालिफा विश्वविद्यालयकी डा सादिया जामिल, यूनिभर्सिटी अफ एजुकेसन घानाकी डा गिफ्टी आपिह अदजेइ, डोगस विश्वविद्यालय टर्कीका प्राध्यापक डा वारिश कोबान, युनिभर्सिटी अफ पिस भेनेजुयलाका डा मारिया टेरेसा, किर्गिस्तानको अनलाइन युनिभर्सिटीका अध्यक्ष डा इलिरा तुरदुभावे, बंगलादेशका प्राध्यापक डा जुड विलियम जिनिलो र फिलिपिन्सको एसियन एन्स्टिच्युट अफ जर्नालिजम एण्ड कम्युनिकेसनका निर्देशक थेरेसे पार्टिसिया सन डिगो थम्स रहेका छन् ।

Logo