‘नेपाली कांग्रेस र जसपासँग सहकार्य गर्न तयार छौं’ : माधवकुमार नेपाल

‘नेपाली कांग्रेस र जसपासँग सहकार्य गर्न तयार छौं’ : माधवकुमार नेपाल

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा वर्तमान राजनीतिक संकट र त्यसको समाधान विषय विचार गोष्ठिमा बोल्दै अध्यक्ष नेपालले आफूहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्यका लागि छलफल गर्न तयार रहेको बताएका हुन् । वर्तमान राजनीतिक समस्या समाधान गर्न माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड बाधक नबन्ने भन्दै उनले मिलेर जानको निम्ति जुनसुकै विकल्पको निम्ति पनि आफूहरु तयार रहेको बताए। 

प्रतिगमनका विरुद्ध संघर्ष गर्ने दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाइ छ । उनले भने – ‘नेपाली कांग्रेस र जसपा नेतृत्वलाई भन्न चाहान्छु, बैठक बसौँ । सहकार्य गरौँ । खुल्लारुपमा छलफल गर्न तयार छौँ । कुन ढंगले गर्दा हुन्छ हामी सबै अप्शनको निम्ति तयार छौँ । हामी बाधक होइनौँ । हामी समस्या होइनौं । हामी समस्या समाधानको निम्ति तयार छौँ । पार्टीहरु नमिलेर उपाय छैन । प्रतिगमनका विरुद्ध संघर्षको मैदानमा उभिएका दलहरु एकताबद्ध भएर अगाडि बढ्नु पर्छ । सँगसँगै जान सकिन्छ भन्ने कुराको विगतमा पनि हामीले उदाहरण प्रस्तुत गरेका छौँ, नसकिने कुरा होइन । सहमति ठोस रुपमा गरेर जाने हो भने विवाद मात्रै हुन्छ भन्ने ठान्नु हुँदैन ।’

कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक समस्या समाधानका निम्ति निर्वाचन आयोगले निष्पक्षरुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद निरुपण गर्नुपर्ने बताए । प्रतिगमनका विरुद्धमा अघि बढेका शक्तिहरु बीच सहमति गरी सरकार गठन गर्नुपर्ने बताए। सरकारको प्रधानमन्त्री को बन्ने भन्दा पनि प्रणालीलाई संस्थागत गर्नु महत्वपूर्ण कुरा भएको उनले बताए । 

यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले छिट्टै निर्वाचन गर्ने सहमतिका साथ ओली बाहेकका शक्तिहरु मिलेर चुनावी सरकार बनाउनुपर्ने बताए। 

देशमा नैतिकता विहिन राजनीति रहेको भन्दै नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा नदिएर लोकतन्त्रको धज्जी पनि बताए । ओलीले संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने स्थिति भए लज्जाको विषय हुने पनि उनको भनाइ छ ।

Logo