प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका दुःख र कष्टका दिन अब समाप्त भएको बताएका छन् । बिहीबार सिन्धुलीको कुसुमटारमा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएको भन्दै अब नेपाली जनताका दुःख कष्टका दिन गइसकेको बताएका हुन् ।
सरकारले बहुआयामिक उद्देश्यका आयोजनाहरु बनाउँदै गएको बताउँदै अरु पनि ल्याउँदै जाने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले सरकारले अघि सारेका विकासका आयोजनाहरुलाई कोभिड १९ का कारण प्रभाव परेपनि त्यसलाई परास्त गर्दै अब विकासको गति नरोकिने दावी गरे ।
सो क्रममा प्रधानमन्त्री ओलीले सुनकोशी–मरिन डाइभर्सन आयोजनाका मुख्य २ वटा उदेश्य रहेपनि यो बहुआयामीक आयोजना भएको प्रस्ट पारे । उनले आयोजनाबाट बारादेखि धनुषासम्मको १ लाख ८५ विगाहा जमिन सिंचाई हुने तथा ३१ मेगावाट विद्युत उत्पादन गर्ने आयोजना सम्पन्न भएपछि २ नम्बर प्रदेशका जिल्लाहरुमा पुग्ने सिंचाईले तराई हरियाली र बगैँचाका रुपमा विकसित हुने बताए ।
प्रधानमन्त्री ओलीले नेपाली जनतालाई अहिलेको राजनीतिबारे केही चिन्ता रहेपनि चिन्ता नगर्न आग्रह गरे । उनले मुलुकलाई समृद्ध बनाउन पार्टी एकता गरेपनि अहिले आएर केही समस्या भएपनि फरक नपर्ने बताए । त्यस्तै उनले आफू मधेश विरोधी नभएको समेत दाबी गरे । उनले मधेसमा केपी ओलीलाई पस्न नदिने भन्ने सुनेको भन्दै आफूलाई पस्न नदिए पनि पानी पसाइदिएर खेतमा सिंचाई गरिदिने बताए । प्रधानमन्त्री ओलीले आफूलाई मधेशमा पस्न नदिए पनि पानीलाई भने नछेक्न आग्रह समेत गरे ।
सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा सुनकोशी–मरिन डाइभर्सन आयोजनालाई पनि राष्ट्रिय गौरवको आयोजना घोषणा गर्दै आयोजनाका लागि २ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।





























प्रतिक्रिया