पचासी वटा उद्योग तथा व्यवसायिक फर्मलाई कारबाही

पचासी वटा उद्योग तथा व्यवसायिक फर्मलाई कारबाही

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐन अनुसार सञ्चालन नभएका ८५ वटा उद्योग तथा व्यवसायिक फर्मलाई कारबाही गरेको छ ।

विभागले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ बमोजिम चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ८५ फर्मलाई कारबाही गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले तोकिएको समयमा फर्मको नवीकरण नगराउने, अनुमतिपत्र नलिई नापतौल यन्त्र प्रयोग गर्दै आएका ती फर्मलाई कारबाही गरिएको जानकारी दिए।

तीन महिनाको अवधिमा विभागले ६९० फर्मको अनुगमन गरेको थियो । जसमा १५१ किराना पसल, ३२ होलसेल बिक्रेता, ६० उद्योग, ५३ फलफूल तथा तरकारी पसल, ३८ माछा/मासु पसल, १९ ग्यास सिलिण्डर उद्योग, ९० पेट्रोल पम्प, १४५ सुनचाँदी पसल र १०३ अन्य फर्म छन् ।

अनुगमनका क्रममा नापतौल यन्त्र बिक्रीस्थलमा नराखेको, नापतौल सम्बन्धी कागजात पेश नगरेको, नापतौल यन्त्रको समयमा नवीकरण नगरेको लगायत कैफियत भेटिएको थियो ।

महानिर्देशक पुडासैनीले पाँचवटा फर्मलाई जिल्ला अदालतमा अभियोग दायर गरिएको बताए । अभियोग दायर गरिएकामा गोरखकाली ग्यास सेन्टर ढुङ्गेधारा, मातारानी ट्रेडिङ प्रालि घट्टेकुलो, न्यू टीका डेरी सेन्टर मानभवन, एपोलो फिड्स चितवन र जगदम्बा इन्टरप्राइजेज पर्सा छन् ।

स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ को दफा २५ अनुरुप नापतौल वा नाप्ने तौलने यन्त्र प्रयोग गर्न अनुमति नलिएका फर्ममाथिको कारबाहीलाई तीव्र बनाइएको विभागले जनाएको छ ।रासस

Logo