हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले संगठन निर्माणको योजनालाई ठोस रुप दिन चार सदस्यीय कार्यदल गठन गरेको छ । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रको बैठकले स्थायी कमिटी सदस्यहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्माको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेको हो । त्यस्तै केन्द्रले एमालेलाई दिएको समर्थन फिर्ता नलिने निर्णय समेत गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संकिर्ण स्वार्थका लागि समय समयमा नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्ने गरिएको भन्दै त्यसप्रति असन्तुष्टी व्यक्त गरेका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको बार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो देशको मुद्दा उजागर गर्दा अरुको देशको राष्ट्रिय हितको उलंघन हुन्छ कि भन्ने कुरामा ध्यान दिनुपर्ने समेत प्रधानमन्त्रीले उल्लेख गरे ।
बिहीबार अर्थात भोली शिवरात्रि । शिवरात्रीका अवसरमा पशुपतिमा विशेष मेला लाग्दै आएको छ । यस अवसरमा नेपालभित्रका मात्र नभई भारतबाट समेत भक्तजनहरु दर्शनका लागि नेपाल आउने गर्छन् । यस वर्ष भने कोभिडको जोखिमलाई मध्यनजर गर्दै विगतका वर्षभन्दा थोरै मात्र भक्तजन आउने अनुमान गरिएको छ । त्यसैगरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि ट्राफिक व्यवस्थापनको सम्पूर्ण तयारी पुरा गरिसकेको छ ।
विभागीय टिम नेपाल पुलिस क्लब काठमाडौं मेयर्सकप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा काठमाडौं मेयर–११ लाई १ सय ३ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो।
जनता समाजवादी पार्टीले सांसद रेशम चौधरीको रिहाइ, संविधान संसोधनलगायत मुद्दालाई सम्बोधन गर्ने पक्षलाई सरकार गठनमा समर्थन गर्ने संकेत देखाएको छ। जसपाको मंगबार बसेको संसदीय दलको बैठकले मधेश थरुहट आन्दोलनको मुद्दा फिर्ता लगायत माग सम्बोधन हुने विश्वसनीय आधार भएपछि मात्रै पार्टीले सरकार गठन बारेको निर्णयमा पुग्ने जसपाले जनाएको छ । त्यस्तै सबै पक्षसँग वार्ता गरी अवस्था बुझेर मात्र थप निर्णय लिने सांसद राजेन्द्र महतोले बताए ।





























प्रतिक्रिया