नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि नियमित सञ्चालनमा आउने भएको छ।
इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका लागि फागुन २३ गतेदेखि बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको सडक आजदेखि नियमित सञ्चालनमा आउने भएको हो ।
पहिरो रोक्नका लागि एक साता सो स्थानमा दुइतर्फी सवारी आवागमन रोकी काम भएको थियो। आज दिउँसोसम्म पहिरो रोक्ने काम सम्पन्न गरेर नियमितरुपमा आवागमन सुरु हुने नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर सविना रानाभाटले जानकारी दिए।
सो ठाउँमा गाडी रोकेर पहिरो रोक्ने काम सम्पन्न भएको छ । सोही ठाउँ नजिकै गत वर्षको असारपछि ठूलो पहिरो खसेको भए पनि तत्काल पन्छाउने योजना छैन । रानाभाटले भने, “हाल रोकथाम गरेको पहिरोभन्दा अझ माथि ठूलो पहिरो छ।”
यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । हालको ठेक्कामा सो पहिरो समावेश नहुने भएकाले बजेटको व्यवस्थापन गरेर काम गर्नु पर्ने रानाभाटले जानकारी दिए।
जुनसुकै बेला सो पहिरो खस्न सक्ने भएकाले उच्च सावधानी अपनाउनु पर्ने देखिएको उनको भनाइ छ । गत साल पहिरो रोकथामका लागि भएको ठेक्कामध्ये आठ ठाउँको सम्पन्न भएकामा बाँकी रहेको चार किलोको यस वर्ष सम्पन्न गरिएको हो । १४ करोडमा पहिरो रोकथामका लागि ठेक्का गरिएको उनको भनाइ छ ।
यो सडक बिस्तारका क्रममा ठाउँठाउँमा भित्तो काटिएपछि पहिरोको जोखिम बढेको थियो। सडक बिस्तार सँगसँगै पहिरो रोकथामको काम पनि अघि बढाइएको थियो । यस सडक हुँदै दैनिक १० हजार हाराहरी सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।रासस





























प्रतिक्रिया