विद्युत् खपत बढाउने उपाय खोज्दै प्राधिकरण, चालू आर्थिक वर्षमा उत्पादन ३ हजार मेगावाट पुग्ने

विद्युत् खपत बढाउने उपाय खोज्दै प्राधिकरण, चालू आर्थिक वर्षमा उत्पादन ३ हजार मेगावाट पुग्ने

केन्द्रबिन्दु
0
Shares

चार वर्ष अघिसम्म दैनिक १६ घण्टासम्म लोडसेडिङ गर्ने नेपाल विद्युत् प्राधिकरण अब भने विद्युत् खपत बढाउने उपाय खोज्न थालेको छ। सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालद्वारा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले केही वर्ष अघिसम्म विद्युत् कसरी बढाउने भन्ने चिन्ता हुने गरेकोमा अहिले भने विद्युत् खपत कसरी गर्ने भन्ने चिन्ता गर्नुपर्ने बेला आएको दाबी गरे।

उनले नेपाल विद्युत् प्राधिकरणको जडित क्षमता हाल १४ सय २६ मेगावाट रहेकोमा चालू आर्थिक वर्षको अन्त्यसम्ममा करिब ३ हजार मेगावाट पुग्ने उल्लेख गर्दै प्राधिकरण अब विद्युत् निर्यात गर्ने हैसियतमा पुगेको दाबी गरे। कार्यक्रममा उनले प्राधिकरणको प्रसारण लाइनमा थप हुन आउने एक हजार मेगावाट विद्युत् उपयोगका लागि आवश्यक आन्तरिक तथा अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि गुरु योजना बनाउनुपर्ने आवश्यकता औंल्याए। 

मन्त्री रायमाझीले प्राधिकरणले छिट्टै भारतलगायत अन्य सार्क राष्ट्रमा विद्युत् निर्यात गर्ने योजना बनाएको पनि बताए। कार्यक्रममा प्राधिकरणले यसअघि नै भारतमा विद्युत् निर्यातका लागि आह्वान गरेको टेन्डरमा सहभागी भएको भएता पनि भारतबाट आयात गरेकै दरमा निर्यात गर्न कोटेशन गरेकोले प्रतिस्पर्धामा पछाडी परेको बताइएको थियो।

कार्यक्रममा अन्य वक्ताले भने प्राधिकरणले अझै स्वदेशमै उत्पादित विद्युतबाट माग धान्न नसकेको धारणा अघि सार्दै पहिला स्वदेशी उत्पादन बढाउने र स्वदेशमै खपत वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए। मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीसीए नेपाल) का कार्यकारी निर्देशक खड्गबहादुर विष्टले नाकाबन्दीको स्मरण गर्दै विद्युत् निर्यातभन्दा पनि पहिला स्वदेशमै पेट्रोलियम पदार्थको आयातलाई विद्युतले विस्थापित गर्नुपर्ने र यसका लागि सरकारले उचित वातावरण बनाउनु पर्ने बताए। उनले नाकाबन्दीपछि विद्युतीय सवारी साधनलाई प्रवर्धन गर्न थालिए पनि पछिल्लोपटक सरकारी नीति विद्युतीय सवारी साधनलाई प्रवर्धन गर्नेभन्दा पनि यसको प्रयोगलाई हतोत्साही गर्ने खालको नीति आउन थालेको टिप्पणी गरे।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणले विद्युतीय सवारी साधनका लागि विभिन्न ठाउँमा ५० चार्जिङ स्टेसन राख्न ग्लोबल टेन्डर आह्वान गरिसकेको जानकारी दिँदै प्राधिकरणले उत्पादित विद्युतलाई स्वदेशमै खपत गराउने नीति लिएको जानकारी दिए।नेपाल समाचारपत्रबाट

Logo