कुनै पनि कामको परिणाम हेर्दा जति सुन्दर देखिन्छ, त्यस पछाडिको मेहनत भने कमै देखिन्छ। सामान्यतया त्यस विषयमा खासै मतलब राख्ने गरेको पनि पाइँदैन।
फोटोग्राफीको सन्दर्भमा पनि कुरा त्यही नै हो। हेर्दा जाबो फोटो खिच्ने त हो नि भने पनि त्यसलाई राम्रोसँग खिच्नु भनेको केटाकेटीको खेल पक्कै होइन।
सोसल मिडिया तथा सेल्फी खिच्ने प्रचलनले फोटोप्रतिको आकर्षण झनै बढेको छ। एउटा उत्कृष्ट फोटो खिच्न फोटोग्राफरलाई घन्टौं लाग्न सक्छ। र, उक्त क्लिक लिनका लागि महिनौं तथा वर्षौ कुर्नुपर्ने हुन सक्छ।
यस्तै, एकजना फोटोग्राफरलाई आकाशगंगा (मिल्की वे)को फोटो खिच्न १२ वर्ष लागेको प्रसंग छ।
फिनल्यान्डका अन्तरिक्ष फोटोग्राफर जेपी मेत्साभानियो धेरैजसो आकाशगंगाको फोटो खिच्ने गर्थे। मेत्साभानियोले यो काम सन् २००९ देखि सुरु गरेका थिए। उनलाई आकाशगंगाको मोजेक बनाउने रहर थियो।
यो पानोरमा फोटो बनाउन उनलाई १२ वर्ष तथा १,२५० घन्टा लागेको थियो। यो फोटो खिचिसकेपछि उनले आफ्नो सोसल मिडियामा यो फोटो शेयर गरे । फोटोको साथमा उनले यो फोटो खिच्न कति समय लाग्यो सो समेत उल्लेख गरेका थिए ।
उनले यो फोटोमा २० मिलियन तारा कैद गरेका छन्। मिल्की वे को यो तस्वीर एक लाख पिक्सेल तथा २३४ मोजेक प्यानलबाट तयार भएको हो । यो तस्वीर १२५ डिग्रीमा खिचिएको हो ।
यस्तो तस्वीर खिच्नका लागि महंगो क्यामराको प्रयोग गर्नुपर्ने हुन्छ भने प्रोसिसिंगका लागि समेत लामो समय लाग्छ । उनले यसबारेमा आफ्नो ब्लगमा जानकारी दिंदै यो फोटो तयार गर्नका लागि यति समय लाग्नुको पछाडि भने मोजेकको साइज तथा फ्रेम रहेको लेखेका छन्।
सोसल मिडियामा उनको यो तस्वीर देखेर मानिसहरु आश्चर्य चकित हुने गरेका छन्।





























प्रतिक्रिया