काठमाडौंले विगत तीनदशकदेखि कुरिरहेको बहुप्रतिक्षित मेलम्चीको पानी सुन्दरीजलबाट पाइप लाइनमार्फत काठमाडौंका ट्याङ्कीहरुमा पठाउन सुरु भएको छ ।
सुन्दरीजल प्रशोधन केन्द्रबाट पाइप लाइनमार्फत काठमाडौंका तीनवटा ट्याङ्कीहरु भरिने र धाराहरुमा पानी वितरण गरिने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए ।
उनका अनुसार अहिले महाँकालचौरको ट्याङ्की भरिसकिएको छ । त्यसपछि अनामनगर र मीनभवनमा रहेका ट्यांङकीमा पानी पठाउन सुरु गरिनेछ । सबै ट्याङ्कीहरु भरिएपछि धारामा पानी छोडिने भएको छ । उनले भने,‘महाँकाल चौरको ट्याङ्की भरी सकेको छ । सुन्दरीजलबाट पठाइएको पानीले तीन वटै ट्याङ्की भरिसेकेपछि दिउँसो २ बजेपछि घर–घरका धारामा पानी छाडिने छ।’
मेलम्चीको पानी सबैभन्दा पहिला २ बजेबाट अनामनगरवासीका धारामा झर्ने खानेपानी मन्त्रालयका सचिव माधव बेलवासेले बताए। आफ्नो धाराबाट मेलम्चीको पानी प्राप्त गर्ने पहिलो टोलबासी अनामनगरका भएको उनको भनाइ छ।
सुन्दरीजलबाट आज विहान १० बजे नै ट्याङ्कीहरुमा पानी पठाउने योजना रहेको थियो । तर सुन्दरीजल क्षेत्रमा विद्युत आपूर्ति बन्द भएकाले ट्याङ्कीहरुमा पानी पठाउन सकिएन् । विद्युत आपूर्ति भएपश्चात साढे ११ बजेदेखि पानी छोड्न थालिएको राईले बताए।
मेलम्चीको पानी गत फागुन २२ गते सुन्दरीजल प्रशोधन केन्द्रमा खसाल्ने कामको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। त्यसपछि प्रशोधन केन्द्रमा खसालेको पानी वाग्मतीमा छोडिदै आएको थियो ।
गत शुक्रबारबाट केयुकेएलले आइतबारबाट काठमाडौंका घर–घरका धारामा पानी वितरण गर्ने योजना बनाएकाले खानेपानी मन्त्री मणि थापाले नयाँ विछ्याइएका पाइप लाइनहरुमा पाइप सफा गर्नका लागि पानी छोडिएको छ।
नयाँ पाइप लाइनबाट सिधै धारामा पानी वितरण गर्दा खानयोग्य नहुने भएकाले पाइपहरु निर्मलीकरण गरेर केही समयपछि मात्रै नयाँ पाइप लाइनबाट पानी वितरण गर्ने योजना आयोजना निर्देशनालयको रहेको छ । अहिले केयुकेएलले वितरण गर्दै आएको पुरानै वितरण प्रणालीबाट पानी आपूर्ति हुने भएको छ।





























प्रतिक्रिया