नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ बनेका छन् । एएफसीले गत बिहिबार सार्वजनिक गरेको किरणसहित एसियाका शीर्ष १० खेलाडीको सूची सार्वजनिक गर्दै भोटिङको लागि आह्वान गरेको थियो । अप्रिल ४ सम्मका लागि भोटिङ गर्ने समय तोकिएकोमा किरणले सर्बाधिक मत प्राप्त गरि ‘एएफसी प्लेयर अफ द वीक’ बनेका हुन्।
किरणले सर्वाधिक ५५.६९ प्रतिशत मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा साउदी अरेबियाका सालेह अल सेहरीले २०.७२ प्रतिशत मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका इराकका अला अली मवाईले १०.१६ प्रतिशत मत प्राप्त गरेका छन् ।
यस्तै यूएईका अली मबखोट (१ प्रतिशत), कतारका मोहम्मद मुन्तारी (०.२७ प्रतिशत), जापानका युया ओसाको (०.२३ प्रतिशत), इरानका सरदार अज्मोन (७.५१ प्रतिशत), बहराइनका मोहम्मद मरहून (१.१५ प्रतिशत), जोर्डनका मुसा अल तामारी (२.९६ प्रतिशत) र ताजिकिस्तानका अलिसर जालिलोचले (०.३ प्रतिशत) प्राप्त गरेका थिए।
एएफसीले गत साता अन्तर्राष्ट्रिय फुटबलमा गरेको प्रदर्शनको आधारमा १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो। साताको उत्कृष्ट खेलाडीको सूचीमा परेर विजेता हुने किरण पहिलो नेपाली हुन् ।
किरणको कप्तानीमा नेपालले ३७ वर्षपछि घरेलु मैदानमा गत साता थ्री नेसन्स कपको उपाधि जितेको थियो । दशरथ रंगशालामा भएको फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोलले पराजित गरेको थियो । नेपाललाई उपाधि दिलाएको दुई दिनअघि किरण भारतको आई लिग सिजन २०२१ को उत्कृष्ट गोलकिपर चुनिएका थिए । उनी पञ्जाव एफसीमा आबद्ध थिए । सिजनको १५ खेलमध्ये १४ खेल खेलेका किरणले ७ खेलमा क्लिनसिट राखेका थिए । जुन सिजनकै सर्वाधिक क्लिनसिट हो । सिजनमा उनले तीन पटक प्लेयर अफ दि म्याचको पुरस्कार प्राप्त गरेका थिए।





























प्रतिक्रिया